रामेछाप खेलकुद विकास समितिको नयाँ कार्यसमिति चयन


काठमाडौँ। रामेछाप खेलकुद विकास समितिको नयाँ कार्यसमिति चयन भएको छ। २१ माघमा वागमती प्रदेशका १३ जिल्लाका खेलकूद विकास समितिका पदाधिकारीको शपथ ग्रहण हेटौँडामा सम्पन भएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालय मकवानपुरको हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले रामेछाप जिल्लाका खेलकूद विकास समितिका नवनियुक्त अध्यक्ष राजेश श्रेष्ठसहित सदस्य सीताकुमारी खत्री (समिता केसी) र लालबहादुर मगरले शपथ लिएका छन्।

सामाजिक विकासमन्त्री युवराज दुलालले खेल क्षेत्रका चुनौतीलाई अवसरमा परिणत गरेर काम गर्नुपर्ने बताउँदै प्रतिभाशाली खेलाडीलाई यस क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिए।

मन्त्री दुलालले राज्यले निश्चित खेललाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै दुई महिनाभित्र प्रथम प्रदेश खेलकूद प्रतियोगिता आयोजना गरिने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिए।

जिल्ला खेलकूद समितिमा एक अध्यक्ष र चार सदस्य रहने व्यवस्था छ। तर रामेछाप समितिका अध्यक्ष र दुई जना सदस्यले मात्रै सपथ लिएर गृहजिल्ला फर्केका छन्।