‘मलाई असफल बनाउन षड्यन्त्र भइरहेको छ’



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई असफल बनाउन षड्यन्त्र भइरहेको बताएका छन्। मंगलबार कर्णाली प्रदेशसभा स्थापना दिवसको अवसरमा संसद सचिवालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विकास निर्माणका काम हुन नदिएर आफूलाई असफल पार्न खोजेको बताए।

आफूलाई असफल बनाउन खोजिएको कुरा मुख्यमन्त्री शाहीले स्पष्ट रुपमा खुलाएनन्। कर्णालीको विकासको सन्दर्भलाई जोडेर उनले आफूमाथि षड्यन्त्र भइरहेको संकेत गरेका हुन्।

‘एकअर्काको प्रगति स्वीकार्न सक्ने क्षमता दाजुभाइबीच पनि छैन, यो पनि कर्णालीको विकास हुन नसक्नुको एउटा कारण हो,’ उनले भने, ‘मुख्यमन्त्री असफल बनाउन किन लाग्नुपर्‍यो, विकासले मुख्यमन्त्रीको सफलता देखिने होइन, बरु पछाडि परेका समुदायलाई सहज हुने हो।’

उनले आफूलाई असफल बनाउन विकास निर्माणका केही काम रोक्न खोजिएको समेत अस्पष्ट तर्क निकाले। ‘कुनै ठाउँमा बत्ति बल्यो भने अँध्यारोमा बसेकाले उज्यालो पाउँछन्, त्यहाँ उज्यालो हुनु र नुहुनु मुख्यमन्त्रीको सफलता र असफलता जोडिँदैन। किन षड्यन्त्र बुन्नुप¥यो।’ उनले कर्णालीभित्रैकाले मुख्यमन्त्री स्वीकार्न नखोजेको पनि बताए।

विकास निर्माणका काममा कानूनले नै समस्या पारेको मुख्यमन्त्री शाहीले बताए। ‘निर्माण व्यवसायीहरुलाई बाटो बनाउनका लागि चिठी दिएको चार महिना भयो, अझै पनि खन्न सुरु नै गरेका छैनन्,’ उनले भने, ‘कानुन हेर्ने हो भने म्याद थप्ने व्यवस्था छ, केही गरिहाल्यो भने ठेकेदार अदालत गइहाल्छन्।’

मुख्यमन्त्री शाहीले संघीयताको परिकल्पना विकासकै लागि भएको बताउँदै प्रदेश सरकारको अहिलेको जिम्मेवारी कर्मचारी र संरचना व्यवस्थापनको भएकोले यसमा कर्णाली सरकार लागेको बताए। उनले खराब संस्कारका कारण कर्णालीको विकास हुन नसकेको समेत बताए।