काठमाडौँ। महामारीका रुपमा फैलिएको नोवल कोरनाभाइरसबारे सोमबारको मन्त्रिपरिषद बैठकमा लामो छलफल भएको छ। त्यसक्रममा अपनाउनुपर्ने आवश्यक सावधानी, चाल्नुपर्ने कदम र नेपालसँगको भएको स्रोतसाधनका बारेमा मन्थन र चिन्तनहरु भए।
‘अहिले जताततै कोरोनाभाइरसको चर्चा छ। सर्वसाधारण पनि डराएका छन्। नेपालमा संक्रमण फैलन नदिन सतर्कता र सजगता अपनाउन सरकारले के–के काम गर्न सक्छ? ती सबै उपायहरु अवलम्बन गर्नुपर्छ’, सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालतर्फ हेर्दै भने, ‘यहाँ गर्नुपर्ने तयारीको कुनै कमी नहोस्।’प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘कोरोनाको चिन्ता र चासो धेरै भयो। यसबाट जोगिने र जोगाउने कुरामा क्याविनेटमा छलफल भयो।’
प्रधानमन्त्रीले यति भनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट नेपाल ल्याउने नेपालीहरुको अवस्था र नेपाल ल्याइसकेपछि उनीहरुलाई राख्ने स्थान ‘क्वारेन्टाइन’ को खोजीबारे भइरहेको प्रगतिको ब्रिफिङ सुनाए।