गायक पंगेनीका पिताको निधनप्रति प्रधानमन्त्रीको समवेदना



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय गायक बद्री पंगेनीका पिता बोधराज पंगेनीको निधनप्रति समवेदना प्रकट गरेका छन्। गायक पंगेनीका पिता बोधराजको सोमबार ७० वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो।

प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘लोकप्रिय लोकगायक तथा लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीका पिता बोधराज पंगेनीको निधनले मलाई अत्यन्त दुःख लागेको छ।’

प्रधानमन्त्री ओलीको ट्वीटरमा अगाडि लेखिएको छ, ‘उहाँ (पंगेनी) का दिवंगत पिताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।’ स्व.बोधराजको आज पाल्पामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।