कोरोनाभाइरस नियन्त्रणमा जिम्मेवारी नबन्नेलाई दण्डित गर्ने सीको चेतावनी



एजेन्सी। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गतको राजनीतिक व्युरो (पोलिटव्युरो) ले सोमबार कोरोनाभाइरसबारे छलफल गर्न एक बैठक बोलायो। वैठकमा कोरोनाभाइरसका कारण निम्तिाएको निमोनिया महामारी नियन्त्रण र रोकथामका उपायबारे छलफल भयो।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी जिनपिङले बैठकको अध्यक्षता गरेका थिए र उनले एक महत्त्वपूर्ण भाषण पनि दिए। सम्बोधनमा सीले महामारीविरुद्धको सङ्घर्षको अग्रमोर्चामा रहेका सबैप्रति सम्मान व्यक्त गर्दै प्रकोपको सुरुदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले महामारी रोकथाम र नियन्त्रणको नेतृत्व गरिरहेको बताए।

सीले महामारी रोकथाम तथा नियन्त्रणबाट निस्किने परिणामले सबै जीवन र स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने र समग्र आर्थिक तथा समाजिक स्थिरताका साथ साथै देशको खुल्लापनलाई असर पार्ने प्रतिक्रिया बताए। ‘यो प्रयासमा पार्टीको सम्पूर्ण समिति र सबै तहका सरकारले केन्द्रीय समितिको ‘युनिफाइड कमाण्ड’लाई दृढताका साथ मान्नुपर्छ,’ सीले भने।

सीले रोकथाम प्रयासमा नोकरसाहीपन र ‘औपचारिकताकै लागि औपचारिकता’ को अभ्यासको विरोध गर्न निर्देशन थिए। ‘युनिफाइड कमाण्डलाई नमान्ने र आफ्नो जिम्मेबारी ननिभाउने दण्डित हुनेछन्,’ सीले भने।

बैठकले महमारीको निगरानी कार्य सबल बनाउन, सम्पूर्ण विरामीलाई उपचारको लागि एक स्थानमा राख्न र शंकास्पदहरुको घरमै गएर चिकित्सकीय निगरानी गर्ने नीति पास ग¥यो।

बैठकमा नोवल कोरोनाभाइरसको उद्गम र विस्तार पत्ता लगाउन वैज्ञानिक अनुसन्धान थप बढाउनुपर्ने र भाइरसको ‘म्युटेसन’लाई सुक्ष्म रुपमा निगरानी गर्न पनि छलफल भयो।

प्रकोपबाट आर्थिक र समाजिक सुव्यवस्था भत्कन दिन नहुने कुरामा जोड दिँदै वैठकले प्रकोपबारे सार्वजनिक शिक्षा र संचारको विस्तारमा पनि जोड दियो।

‘कोरोनाभाइरसको प्रकोपले चिनियाँ व्यवस्था र शासन क्षमताको वास्तविक परिक्षा लिइरहेको छ। हामीले यो समयमा आफ्ना सम्पूर्ण अनुभवमा ध्यान लगाएर तिनबाट पाठ सिक्नुपर्छ ,’ बैठकले भन्यो।

चीनले आपतकालिन व्यवस्था प्रणाली सुधार गर्ने तथा अत्यावश्यक, कठिन, खतरनाक कार्य सामना गर्ने र व्यवस्थापन गर्ने क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै बैठक समापन भयो।

‘महामारीबारे सत्यतथ्य कुरामात्र प्रचार गरौं’

उता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्यीङले प्रकोपलाई देखाएर केही देशले चिनियाँ नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएकोमा असन्तुष्टि व्यक्त गरिन्।

चुन्यीङले प्रकोप नियन्त्रणमा चिनियाँ सरकारको कदमलाई विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले समेत सराहना गरेको अवस्थामा केही देशले अनावश्यक प्रतिक्रिया जनाएको आरोप लगाइन्।

‘अधिकांश देशले कोरोनाभाइरस प्रकोपसँगको संघर्षमा सहयोग तथा साथ दिएका छन्। देशहरुले सुरक्षाको लागि सिमाना प्रवेश विन्दूमा क्वारेन्टाइनको व्यवस्था गर्नु स्वभाविक हो। तर केही देश त्यसमा पनि विदेष अमेरिकाले अनावश्यक बढी प्रतिक्रिया दियो। उसले विश्व स्वास्थ संगठनले समेत गर्नुपर्दैन भनेको कामकुरा गरिरहेको छ।’

‘प्रकोप व्यवस्थापनमा अमेरिकाले हामीलाई कुनै उलेखनीय सहयोग पनि गरेन, बरु वुहानबाट आफ्ना कुटनीतिक कर्मचारी फिर्ता लाने पहिलो देश अमेरिका थियो। चीनस्थित दूतावासमा कर्मचारी कटौती गर्ने पहिलो देश पनि अमेरिका थियो। उसले नै पहिलो पटक चिनियाँ यात्रुमाथि वृहतस्तरको प्रतिबन्ध लगायो। अमेरिकाले उठाएको कदमबाट आतङ्कमात्र फैलिन्छ। अन्य देशको लागि ती कदम गलत नजिर बन्यो।’

स्वयम् अमेरिकी मिडिया र विज्ञले समेत अमेरिकी सरकारको कदमलाई अनावश्यक भनेको हुवाले बताइन्। उनले क्यानाडको उदारण दिँदै भनिन्, ‘क्यानडाको स्वास्थ्य मन्त्रीले अमेरिकाले जस्तो चिनियाँ यात्रुमाथि यात्रा प्रतिबन्ध नलगाउने बताए। त्यो कदम अमेरिका व्यवहारको तुलनामा धेरै फरक छ।’

हुवाले आजको भूमण्डलीकृत विश्वमा सबै देशको नियती एकअर्कासँग गाँसिएको स्मरण गराउदै जनस्वस्थ्य संकटसँग सबै देशले मिलेर काम गनुपर्ने बताइन्। ‘हामी सम्पूर्ण सम्बद्ध देशले यथार्थपरक, स्थिर, तथ्यमा आधारित निर्णय र कदम उठाउन भन्ने आशा गर्छौँ,’ हुवाले भनिन्।