काठमाडौँ। उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको गोली हानेर हत्या गरिएको छ। मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको आइतबार बिहान अज्ञात समूहले गोली हानेर हत्या गरेको हो।
मोटरसाइकलमा सवार दुईजनाको समूहले चलाएको गोली टाउकोमा लागेका अध्यक्ष बच्चनको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
सँगै मर्निङ वाकमा गएका उनका साथी आशीष श्रीवास्तव पनि घाइते भएका छन्। उनको लखनउकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
भारतीय सञचार माध्यमहरुले प्रहरीलाई उद्धृत गर्दै हत्यारको खोजी भइरहेको जनाएका छन्। यसअघि गत वर्ष हिन्दूवादी नेता कमलेश तिवारीको पनि घरमा आएको समूहले हत्या गरेको थियो।