नेकपाका सांसदले मागे सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा



काठमाडौँ। सत्तारुढ नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा माग गरेका छन्।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा बास्कोटाको अभिव्यक्तिमा आपत्ति जनाउँदै उनले संसदीय समितिमा राजीनामा मागेका हुन्।

किरातीले भने, ‘सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ। एमसीसी जुनसुकै हालतमा पास हुन्छ, अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ।’

बास्कोटाको उक्त अभिव्यक्ति आत्म समर्पणवादी भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए। आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा किरातीले आफूहरुले एमसीसीबारे प्रश्नको सामना गर्नु परिरहेको पनि उनले बताए।

के भनेका थिए मन्त्री बास्कोटाले ?

गत बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले एमसीसीका बारेमा धेरै भ्रम फैलाइएको भन्दै संसदबाट पारित हुने बताएका थिए।

कतिपयले एमसीसी पारित भयो भने नेपालमा अमेरिकी सेनाले बेस क्याम्प राख्छ भन्नेसम्मका भ्रम फैलाइएको भन्दै बास्कोटाले अमेरिकाको शक्तिको कुरा गरेका थिए।

उनको भनाइ थियो–अमेरिकाले सेना ल्याएर राख्छ भन्नेसम्मका भ्रम फैलाइयो। अन्तर महादेशीय क्षेप्यास्त्र शक्ति भएको अमेरिकाले संसारको एउटा कुनामा ल्याइएर क्याम्प राख्नुपर्छ ? अस्ति देख्नुभएन इरानको कसलाई हानेको ? गलत हल्ला चलाएर हुन्छ ? हामी कुनै सैन्य गठबन्धन स्वीकार गर्दैनौं।