काठमाडौँ। बुधबारदेखि सुरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक जारी छ। बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल भएका छन्।
शनिबारसम्म १५ वटै समूहमा छलफल भइ टोली नेताले आ–आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन्। अब आइतबारको बैठकमा अध्यक्ष र महासचिवले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्।
लामो समयपछि भएको केन्द्रीय समिति बैठकमा केही रोचक दृश्य पनि देखिए। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको एकीकृत केन्द्रीय समितिका नेताहरुले नै तत्कालीन पार्टीकै हैसियतमा प्रस्तुत हुँदा बैठकको माहोल रोचक र हाँसोले गुञ्जायमान समेत बन्यो।
शनिबारको बैठकमा नेकपा केन्द्रीय सदस्य तथा टोली नम्बर १२ की नेतृ रेनु दाहालले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने क्रममा ‘हाम्रो पार्टी नेकपा माओवादी’ भनेपछि बैठकमा हाँसोको फोहरा छुटेको थियो। यस्तै अनुशासन आयोगका अध्यक्ष अमृत बोहरापनि त्यसैगरी चिप्लिए। उनले ‘हाम्रो पार्टी एमाले’ मा अनुशासन छैन भन्दै आफ्नो धारणा राखेका थिए।
पार्टी एकता भएको दुई वर्ष पुग्न लाग्दा समेत नेताहरुले तत्कालीन पार्टीकै नाम लिने अवस्था रहेको भन्दै कतिपय नेताहरुले अझैपनि भावनात्मक रुपमा एकता हुन नसक्नेको रुपमा टिप्पणी गरेका छन्। नेकपाका एक नेताले पार्टीका गतिविधि शून्य हुनु र भावनात्मक रुपमा एकता हुन नसक्दा अझै पनि समस्याहरु देखा परिरहेको प्रतिक्रिया दिए।
हुन त नेकपा केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अझै भुलेर बेलाबेला पुरानै पार्टीको नाम लिने समस्या रहेको बताएका थिए । उनले आफूले सम्बोधनका क्रममा झुक्किएर अझैपनि एमालेकै नेताको रुपमा बोल्ने गरेको भन्दै यो केन्द्रीय समितिको बैठकले पार्टी एकतालाई भावनात्मक रुपमा बाँध्ने विश्वास लिएका थिए।