भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ। बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा यस्ता धारणा आएका हुन्।

शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको जानकारी गराए।

समूह नम्बर ५ का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग उठेको जनाए। अहिले मृतयुदण्ड दिने कानुन नभएपनि सरकारले अब सो कानुन बनाउनु पर्नेमा आवाज उठेको थियो। उनले सार्वजनिक पदमा बस्नेकोसम्पत्ति छानविन गर्नुपर्ने माग पनि उठेको बैठकमा जानकारी दिए।

सबैजसो टोलीमा यति होल्डिङ्सको जग्गा भाडामा भएको अनियमितता, बालुवाटार जग्गा प्रकरणबारे चर्चा भएको थियो। पछिल्लो समय सरकारका मन्त्रीहरु, पार्टीका नेताहरु विभिन्न काण्डमा मुछिन थालेको भन्दै उनीहरुले कडाइका साथ छानविन गरी सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरेका छन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमा पनि पार्टीले छानविन गर्नुपर्ने माग बैठकमा उठेको छ। समूह नम्बर १५ का टोलीनेता हिमाल शर्माले छलफलमा महरा प्रकरणमा पार्टीले गहन छानविन गर्नुपर्ने माग उठेको जानकारी गराए।

समूह नम्बर १० मा बालुवाटार जग्गा प्रकरण, एनसेल लाभकर, यती होर्डिङ्स जग्गा विवादबारे पार्टीको दृष्टिकोण प्रष्ट हुनुपर्ने माग उठेको टोली नेता युवराज चौलागाईले बताए।

पूर्णकुमारी सुवेदी नेतृत्वको समूह नम्बर ७ मा भने यति होल्डिङ्स, बालुवाटार जग्गा अनियमितता प्रकरणमा उच्चस्तरीय छानविन टोली गठन गरी वास्तविकता सार्वजनिक गर्न माग गरिएको छ।

समूहगत छलफलमा केन्द्रीय सदस्य धर्मशीला चापागाईंले भ्रष्टाचारका कारण राजनीतिप्रति नै सर्वसाधारणको वितृष्णा बढ्न थालेको, सार्वजनिक पदमा पुग्ने जोसूकै पनि भ्रष्टाचारमा उद्यत हुन थालेको भन्दै भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने बताइन्।

उनले समाजवाद के हो र समाजवादमा पुग्ने आधारमा के हो भन्दै प्रश्नसमेत गरिन्। ‘हाम्रो व्यवहार पूँजीवादमा गयो,’ उनले भनिन्, ‘नारामा समाजवाद, व्यवहारमा पूँजीवाद देखियो।’

उनले नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत गरिन्। स्वास्थ्य र शिक्षालाई निःशुल्क गराउनुपर्नेमा जोड दिँदै उनले यी दुवै आधारभूत क्षेत्रका माफियालाई पार्टीमा ठाउँ दिन नहुने बताइन्। यसैबीच १५ वटै टोली नेताले सगुहगत छलफलमा उठेको विषय रिपोर्टिङ सकेका छन्। अब आइतबार अध्यक्ष र महासचिवले बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन्।