विश्वनाथ सिम्खाडा
कालिकोट। कालिकोटको खाँडाचक्र नगरपालिका धामीले छाउपडी नमान्ने प्रतिबद्धता जनाएका छन्। नगरपालिकामा शुक्रवार आयोजना गरिएको छाउपडि प्रथाबिरुद्ध धामी झाँक्रीलाई सचेतना कार्यक्रममा छाउपडीका मुख्य गण मानिने देउताका धामी र गाउँका ‘ठालुले छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता ब्यक्त गरेका हुन्।
‘देवता मान्छौँ, छाउ मान्दैनौँ, महिनावरी भएकी छोरी चेलीलाई घरमै राख्ने गरेका छौ’ खाँडाचक्र नगरपालिका— ७ पिलिका धामी हंस बहादुर मल्लले बताए। ‘हाम्रो ठाँउमा देवता मान्ने चलन व्याप्त छ, छाउमान्ने चलन हराउदै गईसक्यो।’ उनले भने।
कार्यक्रममा सहभागी खाँडाचक्रकै अर्का धामी लिला पाण्डेले आफैँ देउताको धामी भएपनि घरमा कसैलाई देउता लाग्यो भने त्यसको जिम्मेवारी आफैँ लिने प्रतिबद्धता व्यक्त गरे। ‘कुनै घण्ट चढाउनु परे म कहाँ आउनु होला, तपाईँहरु ढुक्क भएर छाउगोठ भत्काएर घरमै बस्नुहोस,’ धामी पाण्डेले भने। कार्यक्रममा नगरप्रमुख जसीप्रसाद पाण्डेले छाउपडी प्रथा न्यूनीकरणका लागि पहिला त मनवाटै छाउ भत्काउन सुरु गर्नुपर्ने बताए।