टिप्पणी,
काठमाडौँ। नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस विस्तारै बुढेउलीको यात्रामा हिडिरहेको देखिन्छ।
कांग्रेसमा उमेरका दृष्टिकोणबाट हेर्दा युवा नेताहरुको कमी भने छैन।
तर, ति युवा नेताहरुका क्रियाकलापहरु पार्टीभित्र र बाहिर खासै प्रभावकारी देखिँदैनन्। नेतृत्वका कमजोरीलाई लिएर स्वच्छ विरोध र रचनात्मक आलोचना गर्ने तागत कांग्रेसका युवा नेताहरुमा देखिएन।
कुनै जमनामा राणा र निरंकुश राजतन्त्रका विरुद्धमा खदिँलो र भरिलो आन्दोलनको मोर्चामा उभिएको नेपाल तरुणदल विगत तीनवर्षदेखि थला परेको अवस्थामा छ। त्यस्तै कांग्रेसका अन्य भ्रातृ संगठनको हालत पनि तरुणदल र नेविसंघको भन्दा फरक छैन।
कांग्रेस पार्टी आफूलाई लोकतन्त्रको जननी भन्छ। तर, पार्टीभित्रको एकतन्त्रीय शैली र तानाशाह प्रवृत्तिबारे कहिल्यै छलफल र वहस हुँदैन। विरोध गर्ने अधिकार र अवस्थासमेत छैन। फरक मत र विचार राख्ने हक र छुट छ भनिन्छ तर, फरक मत राख्नेहरुलाई नेतृत्वले देखे सहन्न। लाखौ कार्यकर्ता बोल्न खोज्छन् तर, सक्दैनन्।
उनीहरु आजभन्दा भोलिको चिन्तामा छन्। जसले नेतृत्वको ढोका कुर्छ, जसले भक्तिगान गाउँछ, त्यसैलाई नेता बनाउने परम्परा कांग्रेसमा नराम्रोसँग बस्यो। दुर दृष्टिकोण नभएको नेतृत्व र अराजक कार्यकर्ताको मिलनले पार्टी त समाप्त बन्छ नै लोकतन्त्रसमेत धरापमा पर्ने खतरा हुन्छ। सत्ता पक्षलाई ठिकसँग हिड्नको लागि प्रतिपक्ष आवश्यक हुन्छ।
यसै कारण कांग्रेसभित्रका क्षमतावान र सुन्दर सपना बोकेर राजनीति गरिरहेका तमाम कार्यकर्ताहरुको भविष्य अन्धकार बन्दै गएको अवस्था छ। नेतृत्वले नेता कार्यकर्ता जन्माउन सक्दैन भने त्यो असली नेतृत्व हुनसक्दैन। नेतृत्वले आफ्ना वरिपरीका अयोग्य मानिसलाई असल र भरोशा योग्य कार्यकर्ताको रुपमा देख्न थाल्यो भने पार्टीको भविष्य डामाडोल हुन्छ। अहिले कांग्रेसमा भएकै यहि हो।
पार्टीमा गुट हुनु स्वभाविक मानिन्छ। तर, कांग्रेसमा गुटको नाममा अराजक समूह हुर्किदै छन्। यिनीहरुको समयमै उपचार भएन भने केही वर्षभित्र कांग्रेसको हालत वर्तमान राप्रपाको जस्तै हुने देखिन्छ। हालै पार्टी कार्यालय सानेपामा कांग्रेस कार्यकर्ताहरुद्वारा रुख (बिरुवा) रोपेको गमला तोडफोड हुनुले पनि यहि कुराको संकेत गर्छ।
कांग्रेस सकिँदैछ। कमजोर बन्दै गइरहेको प्रष्टहुन्छ। नेकपा सरकारका कयन जनविरोधि कामहरुको बारेमा कांग्रेस चुइक्क बोल्दैन। आफू आफूमा भने जे सुकै गर्न तयार देखिन्छ। सभापति देउवा र रामचन्द्र पौडेल समूहबीचको नाङ्गो नाच लाजमर्दो छ।
अलिकती नेविसंघलाई पनि स्मरण गरौं। करिब एक वर्षदेखि अलपत्र परेको नेविसंघले नयाँ नेतृत्व पाएको छ। बिहीबार पार्टी सभापति देउवाको प्रस्तावमा नेविसंघ नयाँ कार्यसमिति गठन भएको छ। ४९ वर्षीय राजिव ढुंगानालाई नेविसंगको नेतृत्व प्रदान गरिएको छ।
कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवातर्फ लागेका ढुंगना बीचको समयमा नेविसंघको केन्द्रीय उपाध्यक्षसम्म बनेका थिए। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको काम अहिले पार्टी सभापति देउवाको भक्तिगान गाउँनु हो। पार्टीको भविष्यभन्दा पनि देउवाको बचाउमा उनले समय खर्चिरहेको देखिन्छ।
यो उनको जीवनको ठूलो भुल त हुँदै हो त्यसैमा पार्टीको भविष्यमाथि खेलवाड पनि हो। प्रवक्ताको हैसियतमा पार्टी नेतृत्वलाई संगठप्रति जिम्मेवार बन्न र राजनीतिक भविष्यलाई उज्ज्वल बनाउन खबरदारी गर्नेभन्दा पनि निश्चित गुटको बचाउमा लाग्नु शर्माको लागि घातक छ।
नेविसंघमा ३२ वर्षे उमेर हदको विवाद जारी रहँदा ४९ वर्षका ढुंगना संगठनको अध्यक्ष बन्नुलाई प्रवक्ता शर्मा स्वभाविक भन्छन्। आफ्नो राजनीतिक जीवनको सहकर्मी आफूले १९ वर्ष पहिले सम्हालेको संगठनको प्रमुख बन्नुलाई स्वभाविक मान्नुमा केही रहस्य लुकेको मान्न सकिन्छ। तर नेविसंघ भन्दा पाकाहरुको संगठन मानिने नेपाल तरुण दलमै भने ४५ वर्षे उमेर हद कार्यान्वयनमा छ।