गाँजा प्रतिबन्ध फुकुवा गर्न नेकपाका सांसदको प्रस्ताव



काठमाडौँ। सोमवार प्रतिनिधि सभामा ४५ जना सांसद्हरूले गाँजा र भाङमा लगाइएको कानुनी प्रतिबन्ध हटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएपछि यसबारे बहस सुरु भएको छ।

सत्ताधारी नेकपाका सांसद विरोध खतिवडा प्रस्तावक रहेको उक्त प्रस्तावमा नेपालमा गाँजा तथा भाङलाई लागुऔषधको श्रेणीबाट हटाउन माग गरिएको छ। गाँजाको खेती र त्यसको कारोबारलाई कानुनी बनाउनु पर्ने माग गर्नेहरूले त्यसबाट नेपालको अर्थतन्त्र समृद्ध हुने दाबी गरिरहेका छन्।

विरोध गर्नेहरू चाहिँ त्यसले नेपाललाई लागुऔषधको केन्द्र बनाउन सक्ने तथा प्रतिबन्ध फुकुवा गर्दैमा गाँजाको खेती र कारोबार सहज नहुने बताउँछन्।

सांसद खतिवडा नेपालले २०३३र३४ सालतिर पश्चिमी देशहरूको दबाबमा गाँजा खेती र बिक्रीलाई गैरकानुनी बनाएको बताउँछन्। उनी भन्छन्, ‘त्यसबेला पश्चिमा देशहरूले आफूहरूले पनि प्रतिबन्ध लगाएर नेपाललाई पनि दबाब दिए, त्यो ठिकै कुरा भयो होला।’

तर अहिले ६२ वटा मुलुकहरूले पूर्ण वा आंशिक रूपमा गाँजालाई खुला गरिसकेको अवस्थामा नेपालले पनि कानुनी मान्यता दिनुपर्छ। उनी गाँजाबाट ३०० औषधी बनिरहेको बताउँदै यसको प्रयोग २,५०० औषधीमा हुनसक्ने दाबी गर्छन्। उक्त प्रस्तावको समर्थन गरेका सांसद लालबहादुर थापा गाँजा खेती खुला नगरी नेपालले समृद्धि हासिल गर्न नसक्ने बताउँछन्।