रौतहट जिल्ला सेक्रेटरी शाही र सदस्य बल गिरफ्तार



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी, रौतहट जिल्ला सेक्रेटरी सिसम शाही र पार्टी जिल्ला सदस्य दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेको छ।

नारायणी ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै माघ १४ गते बिहान ४ बजे रौतहटको सेल्टर घरमा सुतिरहेको अवस्थामा रौतहट जिल्ला सेक्रेटरी सिसम शाही र पार्टी जिल्ला सदस्य दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेकोमा तत्काल बिनासर्त रिहा गर्न र अन्यथा प्रतिरोधको सामना गर्न तयार रहन चेतावनी दिएको छ। ब्युरो इन्चार्ज शितलले जारी गरेको विज्ञप्तिमा सरकारको उक्त कदमको घोर भत्र्सना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजमा अमेरिकी योजना एमसीसीका पक्ष र विपक्षमा बहस चलिरहेको छ । केपी वली, प्रचण्ड, शेरबहादुर देउवालगायत संसदवादी दलहरू एमसीसीका पक्षमा रहेका छन् भने राष्ट्रवादी शक्ति, बुद्धिजीवी, नागरिक समाज र सच्चा कम्युनिस्टहरू एमसीसीका विरुद्ध छन्।

देशलाई एकपछि अर्को गर्दै संसदवादी दलालहरूले बर्बादीकरण गरिरहेका छन्। महँगी, भ्रष्टाचार, घुसखोरी र कालाबजारियाले गर्दा जनताको जीवन कष्टकर बन्दै गएको छ। हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि जनक्रान्तिमा अगाडि बढिरहेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाई शान्तिपूर्ण भेला–सम्मेलन गर्नसमेत रोक लगाएको छ। हाम्रा नेता–कार्यकर्तालाई दमन, धरपकड र हत्या गरेको छ। यही प्रक्रियामा २०७६ माघ १४ गते बिहान ४ बजे रौतहटको सेल्टर घरमा सुतिरहेको अवस्थामा रौतहट जिल्ला सेक्रेटरी कमरेड सिसम शाही र पार्टी जिल्ला सदस्य कमरेड दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेको छ। हाम्रो पार्टी यो हर्कतको घोर भत्र्सना गर्दछ।’

ब्युरो इन्चार्ज शितलको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टीका जिल्ला सेक्रेटरी र जिल्ला सदस्यलाई बिनासर्त रिहाइको माग गर्दछ। निर्दोष नेता–कार्यकर्तालाई रिहा नगरिए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ। यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सामाजिक फासिवादी दलाल सरकार स्वयम् हुनेछ।’