काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले फागुन १४ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको छ।विश्वविद्यालयले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन फागुन १४ गते गर्ने र त्यसका लागि फागुन ४ गेसम्म मतदाता नामावली टुग्याएर प्रकाशन गर्नु पर्ने कार्यतालिका मंगलबार सार्वजनिक गरेको छ।
यसअघि पुस २८ गते उपकुलपति धर्मकान्त बाँस्कोटा र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले क्याम्पस प्रमुखहरूलाई डाकेर फागुन १४ गते निर्वाचन गर्नेगरी तयारी थाल्न भनेका हुन्।
त्यो बैठकमा क्याम्पस प्रमुखहरू निर्वाचन गराउन सकारात्मक भएका थिए। उनीहरुले स्ववियु निर्वाचनको तयारी र प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि निर्वाचन तयारी थाल्न निर्देशनालयले मुलुकभरका क्याम्पसलाई परिपत्र गरेको थियो।
०७३ मा निर्वाचित स्ववियु पदाधिकारीको म्याद ०७५ फागुनमा सकिएको थियो। त्यसपछि ६/६ महिनाका लागि दुई पटक थपिएको म्याद आगामी फागुन १३ बाट सकिँदै छ। ०७३ मा अधिकांश आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन।
त्रिविले विद्यार्थी भर्नालगायतका काम समयसीमाभित्रै सक्न भनेको छ। यतिबेला स्नातकोत्तर तहको भर्ना चलिरहेको छ। त्रिविले एक साताभित्रै निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेर थप प्रक्रिया अघि बढाउने थापाले जनाए। निर्वाचनका लागि उम्मेदवार बन्न २८ वर्षको उमेर हद तोकिएको छ।