‘टिकापुर घटनालाई राजनीतिक रुपमा समाधान गरिनुपर्छ’


काठमाडौँ। समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले टिकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न अनुरोध गरेका छन्।

साथै उनले संघीयताको गलत प्रयोग भइरहेको दावी गरेका छन्। मंगलबारको प्रतिनिधि सभाको वैठकमा बोल्दै डा.भट्टराईले यस्तो दावी गरेका हुन्।

उनले भने,‘संघीयता नामको मात्रै भयो। मधेश, जनजाती, थारु, दलत, महिलाहरुको योगदानमा हालको परिवर्तन आएको हो। परिवर्तनका मुख्य पक्षको भावना विपरित संघीयतालाई विकास गर्ने र गलत प्रयोग गर्ने काम भइरहेका छन्। अहिलेको संघीय राजधानी, प्रदेशका नाम हिजोका अञ्चलभन्दा फरक छैनन्।’

साथै भट्टराईले तत्कालिन जनयुद्धका विषयहरु समाधान गर्न अबेर भइसके बताउँदै भने,‘सभामुखकै बारेमा पनि आज विभिन्न कुराहरु उठिरहेका छन्। त्यस्तै रेशम चौधरीको कुरा आउँछ। टिकापुर घटनालाई राजनीतिक रुपमा समस्या हल गर्नुपर्छ। एक व्यक्तिका रुपमा कोट्याएर बस्ने होइन। पुराना घाउहरुलाई बल्झिाउने होइन। सुल्झाउने हो।’

२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच दिउँसो झडप हुँदा प्रहरी वरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो।

आठ जनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरी अहिले कारागारमा जेल जीवन बिताइरहेका छन्। चौधरी २०७४ मा कैलाली क्षेत्र नम्बर १ का निर्वाचित बनेका थिए।