गायिका राउत अस्पताल भर्ना



काठमाडौँ। प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई उपचारका लागि भन्दै काठमाडौंको ब्लुक्रस अस्पतालमा भर्ना गरेको छ। काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको बताए।

‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने। आफन्तसहित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ। अस्पतालले गायिका राउतलाई अस्पतालको चौथो तल्लामा ४२३ नम्बरको बेडमा राखेर उपचार भैरहेको जानकारी दिएको छ।