काठमाडौँ। प्रहरीले चारदिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार पाएसँगै गायिका आस्था राउतका बारेमा विभिन्न टिका टिप्पणी हुन थालेका छन्।
नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सामाजिक सञ्जाल फेशबुकमा आस्थाका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
महासचिव शाहीले आस्थाका बारेमा लेखेका छन्, ‘आस्था राउतले आवेशमा आएर अलि बढी बोलेको चाहिँ पक्कै हो। तर, लोकतान्त्रिक मुलुकमा बोलेकै आधारमा हिरासतमा राख्नु नागरिक अधिकारमाथि प्रतिबन्ध लगाउनु जस्तै हो। निर्मला पन्तका बलत्कारीलाई अहिलेसम्म गिरफ्तार गर्न नसक्ने प्रहरीले एउटा गायिकालाई गिरफ्तार गरेर बहादुरी काम गरेको छैन।’
के हो आस्था प्रकरण ?
प्रहरी कर्मचारीमाथि अभद्र व्यवहारको आरोप खेपिरहेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि गरे। उनले अनलाइनखबरसँग भने, ‘जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको छ। अब अन्य कानूनी प्रक्रिया सुरु हुन्छ।’
काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो। राउतले सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन्।
यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो। सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन्।
राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जोही दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेको भन्दै प्रहरीको आलोचनासमेत भएको थियो। त्यसपछि केही लचक बन्नेसंकेत प्रहरीले दिएको थियो। तर, कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले म्याद थप गर्नुपरेको प्रहरीको दाबी छ।