काठमाडौँ। नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन्। सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनले पदभार ग्रहण गरेका हुन्। सभामुखमा निर्वाचित भएलगत्तै अरु सांसदलाई पन्छाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन भेट्नु भएको भनेर पत्रकारले प्रश्न गरेको थिए।
उक्त प्रश्नको जफावमा प्रधानमन्त्रीलाई भेट्नु अस्वभाविक नभएको स्पष्ट पारेका छन्। आइतबार सभामुख निर्वाचित भएलगत्तै सापकोटालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले बधाई दिन चाहेका थिए। तर, नेकपाका सांसदहरुको पहिलो रोमा बसेका उनको ध्यान भने प्रधानमन्त्रीतिर देखिन्थ्यो।
हात मिलाएर बधाई दिन चाहेका उनी पार्टीका प्रमुख सचेतक देव गुरुङ लगायतका नेताहरुलाई पन्छाउँदै उनी प्रधानमन्त्री ओली भएतिर लम्किए।कतिपयले पार्टीभित्र ठूलो रस्साकस्सीका बीच सभामुख बनेका सापकोटाको यो ‘दौड’ प्रधानमन्त्री रिझाउने प्रयासको रुपमा अर्थ्याए।
नवनिर्वाचित सभामुख सापकोटाले भने आफूले प्रधानमन्त्रीबाट बधाई लिएर जिम्मेवारी सुरु गर्न चाहनु स्वाभाविक भएको बताए।आज मैले सपथ गरेँ, आजबाट म पूर्ण रुपमा साझा भएँ । हिजोसम्म त मेरा लागि प्रधानमन्त्री मात्र होइन, सभामुख बनाउने पार्टीको अध्यक्ष पनि हो, दलको नेता पनि हो। त्यसकारण सदनमा त्यतिखेर (बधाई) प्रधानमन्त्रीबाट सुरु गर्न खोजेँ मैले’ उनले भनेका छन्, ‘यो एकदम स्वाभाविक छ। संसदीय मूल्य मान्यताअनुसार नै छ।’
सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास गर्न हतार गर्नु नपर्ने धारणा राखे भने आफ्नो नियुक्तिलाई लिएर भइरहेको विरोध र अदालतमा परेको मुद्दाबारे बोल्न मनासिव नहुने बताए।