काठमाडौँ। रियल भालाडोलिडविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। जीतसँगै बार्सिलोनासँग रियलले ३ अंकको अग्रता बनाउन सफल भएको छ। शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–० गोलअन्तरले पराजित भएको थियो।
खेलको ७८ औँ मिनेटमा मा नाचोले टोनी क्रुसको क्रसमा निर्णायक गोल गरे। उनले ला लिगामा गोल गरेको पछिल्लो दुई वर्षमा पहिलो पटक हो। यसअघि, कासिमेरोले टोनी क्रुसको फ्रिकिकमा गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेका थिए।
खेलको अन्त्यतिर भालाडोलिडको गोलमा पनि सर्जी ग्वार्डिओलालाई अफसाइड करार गरिएको थियो। पराजयपछि भालाडोलिड लिगको १६ औँ स्थानमा खस्किएको छ। २१ खेलपछि रियलको ४६ अंक रहेको छ। दोस्रो स्थानमा रहेको बार्साको ४३ अंक छ।
आइतबार भएको अन्य खेलमा एथ्लेटिको म्याड्रिड लेगानेससँग गोलरहित बराबरीमा रोकिएको छ। बराबरीपछि एथ्लेटिकोलाई गोलअन्तरमा उछिन्दै गेटाफे लिगको चौथो स्थानमा उक्लिएको छ। गेटाफेले रियल बेटिसलाई १–० गोलले हरायो।
त्यस्तै, रियल सोसिडाडले मायोर्कालाई ३–० ले हराउँदै लिगको छैटौँ स्थानमा उक्लिएको छ। उता, सेल्टाभिगो र इबारले भने गोलरहित बराबरी खेले। एजेन्सी