अग्नि सापकोटा सभामुखमा निर्विरोध निर्वाचित



काठमाडौँ। नेकपाका नेता अग्निप्रसाद सापकोटा संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको अध्यक्षता गरेका संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव परेकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

अध्यक्ष ठाकुरले निर्विरोध निर्वाचित भएकोमा प्रतिनिधिसभा र आफ्नो तर्फबाट कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दै हार्दिक बधाईसमेत दिएका थिए।

यसअघि सभामुख पदमा सापकोटालाई प्रस्ताव गर्दै नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले सिङ्गो संसदलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने भूमिका पुरा गर्नेछन् भन्ने विश्वास आफुले लिएको बताए।

नेम्वाङ्गले अग्निप्रसाद सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको सांसद देव प्रसाद गुरुङ्ग, ओनसरी घर्ती र लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए।

प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि संसदले ३८ दिनपछि मात्रै आइतबार सभामुख पाएको हो। कृष्ण बहादुर महराले असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो। प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार अपरान्ह १ बजेका लागि बोलाइएको छ।

तस्बिर: मुकुन्द कालिकोटे