काठमाडौँ। प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपा ‘नेकपा’ का नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आएतबार छिनोफानो हुँदैछ।
अधिवक्ता दिनेश त्रिपाठीले आइतबार व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन्।
सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको हाल भएको निर्वाचन प्रक्रियासमेत रोक्न रिटमा माग गरिएको छ। यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाईसमेत कारबाही गर्न माग गरिएको छ।
माओवादी युद्धका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरेर हत्या गरेको आरोप सापकोटामाथि छ।
यस सम्बन्धी अर्को मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ। हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागेको भन्दै केही अधिकारकर्मीले विरोध समेत गर्दै आएका छन्।
७ गतेको सभामुखको मनोनयन दर्तामा उनको मात्रै उम्मेदवारी परेकाले अब सापकोटा औपचारिक रुपमा सभामुख भएको घोषणामात्रै बाँकी छ । आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्ने कार्यसूची रहेको छ।