नेपाल एयरलाइन्सका पाइलटले बुझाए सामुहिक राजीनामा



काठमाडौँ। नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा बुझाएका छन्। विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएको बुझिएको छ।

९० दिनको समयसीमा दिँदै उनीहरुले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्। व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर, विदेशीलाई कम काम लगाउने र सेवा सुविधा धेरै दिएको आरोप उनीहरुको गुनासो छ।

‘३ महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने कि, नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने,’ पाइलटहरुले राजीनामा पत्रमार्फत व्यवस्थापनलाई २ विकल्प दिएका छन्।

विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउँछन् भने नेपालीले महिनामा ९५ घण्टा जहाज उडाउने पाइलटहरु बताउँछन्। पाइलटहरुका अनुसार विदेशीले हप्तामा २ दिन छुट्टी पाउँछन् भने नेपालीले हप्तामा एकदिन मात्र छुट्टी पाउँछन् । त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन्।

विदेशीले महिनामा १५ लाख तलब पाउँछन् भने कर पनि व्यवस्थापनले तिरिदिएको छ। नेपालीले ५ लाख तलब मात्र पाउँछन्। नाम गोप्य राख्ने सर्तमा एक सिनियर पाइलटका अनुसार ४० जनामध्ये २५ जनाले राजीनामा दिएपनि थप ८–१० जनाले केही दिनमै व्यवस्थापनलाई राजीनामा बुझाउने तयारी भइरहेको छ।