काठमाडौँ। कर्णाली प्रदेशको कालिकोट जिल्ला, तिलागुफा नगरपालिका वडा नम्बर सात भण्डारबाडाकी १८ वर्षीया वर्षा भण्डारा हाल काठमाडौँमा छिन्।
उनी कलाकारिता क्षेत्रमा आफ्नो पहिचान बनाउन राजधानीमा आएको बताउछिन्। वर्षा नेपाली कला, भाषा र साहित्यको उर्वर भूमी कर्णालीकी एक संघर्षशील नारी पनि हुन्।
कलाकारीतामा लागेर आफ्नो नामसँगै कर्णालीको परिचयलाई माथि उठाउने उनको मुख्य लक्ष्य छ। संघीय राजधानी काठमाडौँ धेरै मानिसका लागि सपनाको सुन्दर शहर पनि हो। यसै सपनाको शहरमा आइपुगेकी वर्षाले हालै ‘सिउँदो’ बोलको आधुनिक गीत बजारमा ल्याएकी छन्।
वर्षाले यस गीतमा उत्कृष्ट शब्द रचनासँगै अभिनय पनि गरेकी छन्। राज कुमार बगरको संगीत र शान्ती श्री परियारको स्वर रहेको उक्त गीत आमाको जीवनमा आधारित रहेको वर्षाको भनाई छ।
कर्णाली सन्देशसँगको कुराकानिमा वर्षाले आफ्नाे जीवनको बाल्यकाललाई स्मरण गर्दै भनिन्,‘म सानो छदाँ मेरो बाबाको दुःखद निधन भयो। म पाँच वर्षको हुँदा बाबाले छोडेर जानुभयो। त्यसबेला मेरो बहिनी जम्मा दुई वर्षको थिइन् भने आमा २३ वर्षको। २३ वर्षको कलिलो उमेरमै आमाले जीवनसाथी गुमाउनु पर्यो। त्यति मात्रै होईन समाजको छिछि र दुरदुरलाई सहनु पर्यो। कलीलै उमेरामा सिउँदो पुछियो। त्यसपछि हाम्रो सुखको संसारमा कालो बादल मडारियो। दुःखका दिनहरु सुरु भए।’
वर्षाले भावुक हुँदै भनिन्, ‘२०६३ सालमा बुबाको निधन भएको एक वर्षपछि हामीहरु कैलालीमा रहेको मामाको घरमा आयौं। मामाको घरमा बसेर आमाले घाम पानी नभनी मज्दुरी गरेर हामीलाई पढाउनु भयो। जसो तसो हुर्काउनु भयो। हाम्रो समाजमा विधुवा महिलालाई हेर्ने दृष्ट्रिकोण छुट्टै छ। हेपेर बोल्ने, कसैसँग हाँसेर बोल्दा नकारात्मक सोच्ने अनेक कुराहरु काट्ने गर्छन्। मेरो समाज र हाम्रा आफन्तले मेरी आमालाई दुई छोरीलाई पाल्न र गरेर खान सक्दिनस् भनेर घर त्याग्न बाध्य बनायो। यस्ता धेरै कुराहरुबाट पीडित बनेपछि आमाले दोस्रो विवाह गर्न बाध्य हुनुभयो।’
उनले अगाडि थपिन्,‘त्यसपछि हामी आमा र छोरीबीच केही समयका लागि सम्बन्धको दुरी टाढियो। कयन हन्डर, ठक्कर र विछोडका पलहरुसँग जुध्न पर्यो। ति दिनहरु यति विरक्त र वेदनाले भरिएका छन् कि शब्द मार्फत अथ्र्याउने गाह्रो हुन्छ। कहाली लाग्दो विगतको संवेदनालाई शक्तिमा बदलेर अगाडिको जीवन सुन्दर बनाउने सपना छ। विगतका दिनहरुमा पेटको लागि संघर्ष गर्नु परेको थियो भने अबका दिनमा नाम र पहिचानको लागि सक्दो प्रयास र मेहनत गर्नेछु। यो मेरो अठोट हो।’
उनी भन्छिन्,‘जीवनमा जसलाई जति राम्रो गर्छु भने पनि नहुने रहेछ। न त आफन्तलाई आफ्ना बनाउन सकियो। न त हामी आफन्तको लागि प्रिय बन्न सक्यौं। जीवनमा पराइको त के कुरा आफ्ना भन्नेहरुले पनि खुब रुवाउँदा रहेछन्। आफ्नाहरुले पीडामा साथ दिनुको साटो उल्टै पीडामाथि चोटदिने रहेछन्।’
वर्षा भन्छिन्,‘हाम्रो जीवन संघर्षको मैदानमा यसरी उभिएको छ कि कुन शब्दमा भनुँ? हामीले भोगीरहेको र बिताइरहेको जिन्दगीलाई परिभाषित गर्ने वा सम्बोधन गर्ने मसँग कुनै शब्द छैन्। हाम्रो जीवन जस्तो सुकै भए पनि आफ्नो क्षमता प्रदर्शन गरेर थोरै भए पनि परिचय बनाउनु छ। केही गरेर देखाउनु छ। जुन समाजले मेरी आमालाई घृणाको नजरले हेरेको थियो। उनीहरुकै अगाडि मैले केही गरेर देखाउनु छ। यही उद्देश्य बोकेर काठमाडौँ आएकी छु। यस क्षेत्रमा मलाई घर परिवारको साथ सहयोग नभए पनि अन्य मेरा शुभचिन्तक तथा अग्रज व्यक्तिहरुकासाथै मेरी आमाको आर्शिवाद लिएर अगाडि बढ्ने छु।’
तस्बीर: मुकुन्द कालिकोटे