काठमाडौँ। सत्तारुढ नेकपा (नेकपा) नेता अग्नि सापकोटाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर पुगेर सभामुखको उम्मेदवारी दर्ता गराएका छन्। नेता साप्कोटा त्यहाँ पुग्दा पूर्व सभामुखहरु सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्तीमगर पनि पुगेका थिए। नेकपा सचेतक देव गुरुङ र राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण पनि थिए।
उम्मेदारी दर्ताका बखत नेम्वाङ सापकोटाको सभामुख प्रस्तावक बने। ओनसरी, देव गुरुङ र लक्ष्मणलाल कर्ण समर्थक बने। नेम्वाङ सभामुखका मुख्य दाबेदार भए पनि अन्तमा सापकोटा सभामुखको उम्मेदार बनेका हुन्। देव गुरुङ पनि सभामुखका दाबेदार थिए।
सबैभन्दा रोचक राष्ट्रिय जनता पार्टी सापकोटाको समर्थक बन्यो। कर्ण सापकोटाको समर्थक बन्नुलाई अर्थपूर्ण मानिएको छ। राजपा पछिल्लो समयमा सरकारमा जाने चर्चा चलिरहेको छ। राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाबीच प्रदेश २ मा गठबन्धन बनेको छ।
सापकोटाले उम्मेदवारी दिएपछि नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय आयो। काँग्रेसले उपसभामुखमा सहमति गरेको चर्चा चलिरहेको छ। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभामुख काँग्रेसले पाउने भित्री सहमतिको खुलासा गरेका छन्।