सभामुखका लागि भोलि उम्मेदवारी दर्ता, निर्वाचन माघ १२ गते



काठमाडौँ। अन्ततः संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। निर्वाचन कार्यक्रमअनुसार सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजे हुनेछ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते अर्थात मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ।

त्यसका लागि प्रतिनिधि सभाको कुनै सदस्यले अर्को कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ। त्यसरी निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सोही दिन अर्थात माघ ७ गते २ः३० भित्र सूची प्रकाशन गरिनेछ।

त्यस्तै माघ १२ गते प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भनि प्रस्तावक सदस्यले प्रस्ताव गर्नुपर्ने छ। त्यसमा समर्थक सदस्यले समर्थन गर्नुपर्ने छ।

उपसभामुख शिबमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो। सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गरेका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाएका थिए।

लगत्तै उनले प्रतिनिधिसभा नियमावलीको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ गतेका लागि निर्धारण गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव प्रसाद भट्टराईलाई निर्देशन दिएका थिए।