‘राजनीतिकर्मीका लागि राष्ट्रियताभन्दा ठूलो अरू केही हुँदैन’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता भीम रावलले राष्ट्रहितभन्दा ठूलो आफ्ना लागि कुनै पनि कुरा गौण हुने बताएका छन्।

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा नेता रावलले यस्तो बताएका हुन्। नेता रावल पछिल्लो समय ‘एमसीसी’ को बारेमा तर्कपूर्ण र प्रमाणका आधारमा आफ्ना अभिव्यक्ति राख्दै आएका छन्।

तपाईंलाई ‘पद नपाएर सरकारको आलोचना गरिरहेको’ आरोप लाग्न थालेको छ नि ? भनेरको सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘यो मिथ्या आरोप हो। यस्तो आरोप लगाउनेहरुलाई म के भन्छु भने हिजोको मेरो इतिहास पढ्नुहोस्। मन्त्री पद छोड्ने एउटा कुनै अर्को नेता नेपालमा छ ? बरु मैले उठाएका राष्ट्रियता सम्बन्धि मुद्धामा वहस गर्न नसक्ने र परिचालित मानिसहरुले लगाउने आरोपहरु हुन्।’

तपाईले यो कुरा अन्तरहृदयबाट बोलिरहनु भएको छ ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उनले भने, ‘म अन्तरहृदयबाट बोल्ने मान्छे हुँ। एक जना सच्चा राजनीतिकर्मीका लागि राष्ट्रियताभन्दा ठूलो अरु केही हुँदैन। पद नपाएको भन्नेहरुले यो आरोप लगाउनु भन्दा पहिले नै मैले आरआर स्ववियुले आयोजना गरेको एक कार्यक्रममा मन्त्री त के कसैले प्रधानमन्त्रीकै चक्लेट दिए पनि खान्न भनेको थिए। राष्ट्रियताको नाम जपेर पदको लोभ गर्नु सबैभन्दा गद्धार काम हो। यो कुरा मैले राम्ररी बुझेको छु। र बोलिरहेको छु। म बाट यस्तो घृणित काम हुनसक्दैन। ‘

नेता रावलले अगाडि भने, ‘राष्ट्रहित विपरित कामहरु नगरौं। यो कुरा गलत छ। यो सहि हो भन्दा म कसरी पद नपाएकाे भए? राष्ट्रियता कम्जोर बनाउने र शक्तिशाली राष्ट्रले नेपालाइ युद्ध मैदान बनाउने कुरा समयमै सोच्नुपर्छ भन्दा म कसरी पद नपाएको भए? सारा देशले एमसीसी देशको हितमा छैन भनेर बोलि सक्यो। के एमसीसीको विरोध गर्ने सम्पूर्ण नेपालीहरु पद नपाएर बोलिरहेका छन्? राष्ट्रहित विपरित कुनै पनि काम हुन्छ भने त्यहाँ मेरो विरोध हुन्छ।’

नेता रावलले गत २ मंसिरमा स्वतन्त्र विद्यार्थी यूनियन (आरआर) क्याम्पसद्वारा आयोजित ‘सीमा अतिक्रमण: विगत, वर्तमान र राष्ट्रिय सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री त के, प्रधानमन्त्रीकै चक्लेट दिए पनि आफूले ग्रहण नगर्ने स्पष्ट पारेका थिए।

यो पनि पढ्नुहोस्

‘प्रधानमन्त्रीकै चक्लेट दिए पनि देशभक्ति आवाज रोकिदैन’