कालिकोट कांग्रेसले पनि बुझायो सरकारलाई विरोध पत्र



विश्वनाथ सिम्खाडा

कालिकोट। प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गर्दै देशभरबाट विरोध पत्र पठाएको छ । कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका हुन्।

कालिकोटमा पनि मान्मको प्रतिमाचोकमा भेला भएर कांग्रेस नेता कार्यकर्ता जुलससहित जिल्ला प्रशासन कार्यालय पुगेका पुगी जिल्ला कार्यसमितिका सचिव एसोधा शाही, सहसचिव दमनबहादुर शाही, महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर बिष्टले प्रमुख जिल्ला अधिकारी कृष्नचन्द्र पौड्याललाई विरोध पत्र बुझाएका छन्।

नेता बिष्टले जसले न्यायका लागि कलम चलाउँछ, जसले लोकतन्त्रको रक्षाको लागि बोल्छ उसलाई नै राज्यले गलापासो लगाएको भन्दै सबैले बोल्नै पर्ने बेला आएको बताए। सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ।

संसदीय समितिले पनि यही प्रावधानसहित विधेयक पास गरेर संसदमा पठाएको छ। विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्न सक्ने लगायतका विवादास्पद प्रावधान समेत छ।