file photo
काठमाडौँ। सँगैका साथीभाइले फिल्म बनाएर कमाएको देखेपछि सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)लाई पनि फिल्म बनाउन रहर लाग्यो। मागेरै कत्रा–कत्रा बस्ती र क्रिकेट रंगशाला त बनाइरहेका छन् भने जाबो करोड÷दुई करोडको फिल्म बनाउन के गाह्रो ?
उनीहरूले फिल्म फिल्म बनाउने घोषणा गरे। नाम राखियो, ‘सेन्टी भाइरस’। फिल्मको सुटिङ सकिईकन भर्खरै गीत पनि रिलिज भइसकेको छ। तर, गीत सोचेजस्तो हिट खाएन। महिना दिनमा मुस्किलले १० लाख भ्युज पायो।
यो फिल्म र दीपेन्द्र के खनालको ‘आमा’ एकै दिन रिलिज हुँदै छन्। प्रतिस्पर्धा कतिसम्म चर्को थियो भने ‘आमा’को ट्रेलर रिलिज भएकै दिन ‘सेन्टी भाइरस’को गीत पनि रिलिज भएको थियो।
‘आमा’को ट्रेलर ट्रेन्डिङका खुड्किला चढ्दै एक नम्बरसम्म पुग्यो तर स्टारकास्टले भरपूर ‘सेन्टी भाइरस’को गीत एक नम्बर त परको कुरा, ट्रेन्डिङमै छिर्न सकेन। गीत त जे भयो भयो, तर गीतको जस्तै हालत फिल्मको पनि भयो भने चाहिँ धुर्मुसलाई फिल्म बनाउने निर्णय निकै भारी पर्नेवाला छ।