ऋण तिर्न नसकेपछि आत्महत्याको निर्णय, दुई छोरा त्रिशुलीमा वेपत्ता



काठमाडौं। बिहीबार साँझ श्रीमती र दुई छोरासहित त्रिशुली नदीमा हामफालेका चन्द्रागिरी नगरपालिका–४ का विनय लामिछानेले व्यपारमा टाट पल्टिएपछि त्यस्तो निर्णय लिएको खुलेको छ।

घटनापछि विनयका दुई वर्षीय र ६ महिने छोरा बेपत्ता छन्। उनकी श्रीमती जमुनाको शव बिहीबार साँझ फेला परेको थियो। विनयलाई भने प्रहरीले करिव १० मिनेटमै सकुसल उद्दार गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा विनयले व्यापारमा ठूलो घाटा व्यहोरेपछि स–परिवार आत्महत्या गर्ने निर्णय लिएको प्रहरीले जनाएको छ।

अनलाईन व्यापारमा करोडौँ रकम घाटा खाएपछि सहन नसकेर सामूहिक आत्महत्याको निर्णय लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मी भने, व्यापारमा घाटा हुँदा ऋण तिर्न नसकेको बुझियो।

रेग्मीकाअनुसार लामिछानेले व्यापारमा घाटा व्यहोर्दा बैंक तथा वित्तीय संस्था, सहकारी र वचत समूह तथा व्यक्तिबाट समेत चर्को व्याजमा ऋण लिएको र तिर्न नसक्दा तनाव भएपछि नदीमा हाम्फालेको बताएका छन्।

लामिछानेले तिनकुनेस्थित कमोडिटी अनलाइन व्यापारमा सेयर लगानी गरेको र सेयर लगानी गर्न विभिन्न व्यक्तिहरुबाट मिटर ब्याजमा करिब २ करोड ऋण लिएको थानकोटस्थित घरबाट प्रहरीले फेला पारेको ‘सुसाइड नोट’ बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ।उनीहरुले ऋण लिएको रकम, ऋण दिने व्यक्तिको नाम र तिर्नुपर्ने रकम उल्लेख गरिएको लिखत घरमा फेला परेको प्रहरीले बताएको छ।

माघ २ गते लेखेर घरमा छोडिएको सुसाइड नोटमा एक अनलाइन व्यापारका कार्यकारी निर्देशकको नाम पनि उल्लेख गरिए पनि अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले नाम गोप्य राखेको छ।

थानकोट प्रहरी वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले लामिछानेको घरमा सुसाइट नोट भेटिएको जानकारी दिए। अनुसन्धानकै क्रममा रहेकाले त्यसमा लेखिएको कुरा खुलाउन नमिल्ने बताए।

विनयकी श्रीमती जमुनाले फेसबुक स्टाटसमा मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकम धनीले दबाव दिएको लेखेकी छिन्।

फेसबुकमा आफ्नो नामथरको अंग्रेजी अक्षरलाई उल्टोबाट लेखेकी जमुनाले थानकोटमा नयाँ डीएसपी आएपछि मिटर ब्याजीहरुलाई कारवाही गर्नुपर्ने समेत लेखेकी छिन्। यसबाट पनि उनीहरु मिटर ब्याजको कारणले आत्महत्याको बाटो रोजेको अनुमान प्रहरीले गरेको छ।

आफन्तका अनुसार मृतक जमुना र विनयले स्नातकोत्तरसम्मको अध्ययन गरेको खुलेको छ। विनयका काका मणि लामिछानेका अनुसार विनय थानकोट क्षेत्रमा लेखा बिषयका कहलिएका शिक्षक हुन्।

उनी पढाउने काम छोडेर व्यापारमा लागेका थिए। तर, उनी व्यापारमा डुबेको कुरा परिवारका अरु सदस्य र आफन्तजनलाई थाहा नभएको मणिले सुनाए।

आफन्तका अनुसार उनीहरु कान्छा छोराको पास्नी गर्न भन्दै ससुराली हिँडेका थिए। छोराको शुक्रबार ९आज० मावली घरमा पास्नी रहेको बुझिएको छ। घरपट्टि जुठो परेकाले उनी ससुराली हिँडेका थिए। उनको ससुराली गजुरी गाउँपालिका–६ हो।

विनयलाई आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउने तयारी भइरहेको धादिङ प्रहरीले जनाएको छ। जमुनाको शव पोष्टमार्टम भैरहेको छ। प्रहरीका अनुसार विनय यतिबेला निकै असहज मानसिक अवस्थामा छन्। साभार:नेपाल समय