काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता, पुर्व सांसद तथा नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष रञ्जित कर्णले लोकतन्त्रवादीहरु एक जुट हुनुपर्ने समय आएको प्रतिक्रिया दिएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेशबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता कर्णले नेपाल विद्यार्थी संघको गौरवमय क्रान्तिको विरासतलाई जोगाउन सम्पुर्ण प्रजातन्त्रवादीहरू गम्भीर हुनु आवश्यक रहेको प्रतिक्रिया दिएका हुन्।
लामो समयदेखि हुन नसकेको त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकेकै समयमा सम्पन्न गर्न र नेविसंघको गौरवमय गाथालाई जोगाउन तर्फ अग्रसर हुन नेविसंघका नेताहरुलाई आग्रह गरेका छन्।
उनले लेखेका छन्, ‘नेविसंघले आफ्नो अगुवाई र दवावमा प्रजातान्त्रिक पद्धतिको उत्तम अभ्यासको थालनी स्वरुप स्वतन्त्र विद्यार्थी युनियनको स्थापना गराएको इतिहासलाई स्मरण गर्दै आम जनतालाई समान शैक्षिक अवसरको उपलब्धता नेपाल विद्यार्थी संघको मुख्य सरोकार हो। सम्पूर्ण विद्यार्थीहरुको साझा थलोको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मार्फत प्रजातान्त्रिक व्यवस्थाको प्रचुर अभ्यास हुँदै आएकोमा केही बर्ष यता अधिकाश क्याम्पसहरुमा स्वावियु निर्वाचन अवरुद्ध हुन पुगेकोमा हामी सम्पुर्ण प्रजातन्त्रवादीहरु गम्भीर हुनु आवश्यक छ।’
उनले अगाडि लेखेका छन्, ‘स्ववियु विद्यार्थीका हक, अधिकारका निम्ति स्थापित साझा थलो हो। आजका विद्यार्थी देश निर्माणका महत्त्वपूर्ण शक्ति हुन्। विश्वका हरेक शैक्षिक, राजनैतिक एवं सामाजिक आन्दोलन विद्यार्थीको नेतृत्वमा नै भएका छन्। सघर्षमा जन्मिएर सघर्षमै हुर्केकोको नेपाल विद्यार्थी संघले गौरवमय क्रान्ति गाथाको इतिहास निर्माण गरेको छ। तसर्थ आगामी फाल्गुन १४ गते हुने स्वावियु निर्वाचनमा नेपाल विद्यार्थी संघका सम्पुर्ण विद्यार्थी साथीहरूलाई एकजुट भइ सबै क्याम्पसमा नेविसंघलाई अत्यधिक मतले विजयी गराउन हार्दिक अनुरोध गर्दछु।’