जुम्लामा खस भाषाको पाठ्यपुस्तक निर्माण



धनबहादुर बुढा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय संस्कृती र सभ्यता संरक्षणका लागि खस भाषाको पाठ्यपुस्तक निर्माण गरेको छ। यहाँका २५ वटा विद्यालयमा खस भाषाको पाठ्यपुस्तक पठनपाठन हुन थालेको हो।

अहिले खस भाषाको उद्गम स्थल जुम्ला संकटमा छ। खस भाषा पनि हराउदै जान थालेको भन्दै संरक्षणका लागि पाठ्यपुस्तक निर्माण गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताउँछन्। उनले भने,‘पछिल्लो पुस्ता आधुनिक संस्कार र संकृति प्रति आकर्षित हुन थालेका छन्। त्यो बाट मुक्ति दिलाउनै स्थानीय भाषा संस्कृतिका बिकास गर्न पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन थालेका छौँ।¬’ शिक्षा क्षेत्रमा थालेको यो कार्य जिल्लाकै बेग्लै खालको देखिएको छ।

गाउँपालिकाका २८ विद्यालयमध्ये २५ विद्यालयको १ देखि ३ कक्षामा शैक्षिक सत्र ०७५र०७६ देखि नै खस भाषाको पुस्तक पठनपाठन सुरु भइसकेको थियो। आगामी नयाँ शैक्षिक सत्रदेखि कक्ष ४ र ५ मा पनि खस भाषाको पाठ्यपुस्तक सुरु हुने शिक्षा संयोजक छायादत्त चौलागाइ बताउँछन्। जुम्लामा नयाँ शैक्षिक सत्र फागुन महिनादेखि शुरुवात भई मंसिरमा अन्त्य हुन्छ। कक्षा १ देखि ५ सम्मका ३ हजार ८ सय ५१ विद्यार्थीले खस भाषाको पाठ्यपुस्तक अध्ययन गर्न पाउने गरि तयारी भइरहेको छ।

स्थानीय खस भाषाको पठनपाठन कार्यले हाम्रो संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई जिम्मेवार बनाउने गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताउँछन्। उनका अनुसार कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिक स्थल, तातोपानी धारा, भण्डार वन, भुरीचुला, नदै डाव, बुदबुदी धाम, इमिल्च्या मन्दिर, सुन्दरगाउँ मष्टो मन्दिर, बाबिरा मष्टो मन्दिर, ठाकुर ज्यू मन्दिर, ऐतिहासिक गुरुफोक्टो, बाँनिया दियार, लछालकृतिक पैकेलो र पैकेलाको दरबार जस्ता विषयबस्तु समावेश गरिएको शिक्षा शाखा तातोपानीले जनाएको छ।

कक्ष २ र ३ कक्षाको पाठ्यपुस्तकमा पनि प्राकृतिक धार्मिक र ऐतिहासिक सम्पदा, कालीमार्सी धान, फापर, कागुनो, स्याउ, सिमिलगायत स्थानीय कृषिजन्य बाली त्यसको उपयोगीताका बारेमा समेटिएको छ। यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडा जस्ता यहाँ पाइने बहुमुल्य जडीबुटी पाठ्यपुस्तकमा राखिएको छ। पाठ्यपुस्तकमा उल्लेख भएका ऐतिहासिक, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय, महत्वलाई खस भाषाबाट लिपिबद्ध गरिएको छ।

पहिले जिल्ला बाहिरका यहाँको समाज संस्कृति नसमेटिएको पुस्तक भन्दा यहाँको रैथाने संस्कृति र भाषा पढ्न पाउदा विद्यार्थी उत्साहित छन्। अभिभावक पनि दंग छन्। यो खस भाषामा निर्माण भएको पाठ्यपुस्तकले यहाँको सभ्यताको पहिचान दिलाएको स्थानीय बताउँछन्। गाउँपालिकाले थालेको भाषा संरक्षण अभियान निकै सकरात्मक पक्ष रहेको सरोकारवाला बताउँछन्। यो समाचार नागरिक न्युजमा प्रकाशित छ।