रेशम चौधरीलाई छिट्टै छुटाउँछु: प्रचण्ड



काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताएका छन्।

काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चौधरी फरार रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै तथा पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको स्मरण गराए।

उनले अघि भने, ‘सभामुख, सरकार र पार्टीलाई भनेर कम्तिमा रेशमलाई सपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिलाउनुपर्छ भनेर भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनु होला।’

अहिले पनि सरकारसँग र पार्टीमा टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको उनले बताए। प्रचण्डले अघि भने, ‘केही साथीहरु छुटेका छन्। रेशमलगायका साथीहरु छुट्न बाँकी छ। छुटाइन्छ, हेर्नुहोला केही समयभित्र परिणम निस्किन्छ।’