चापीय प्रणाली नेपाल प्रवेश, शुक्रबारसम्म देशभर वर्षा र हिमपात



काठमाडौँ। केही दिनदेखि घमाइलो रहेको मौसममा बुधबार रातिबाट पुनः बदलाब आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ।

बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल बताउँछन्। ‘बुधबार राति देशको पश्चिम क्षेत्रबाट प्रवेश गर्ने पश्चिम न्यून चापीय प्रणाली केही सशक्त हुने देखिएको छ। त्यसले भोलि र पर्सि पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात हुनसक्छ।

नयाँ मौसमी प्रणालीका कारण बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ।

यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपात हुने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ। शनिबारबाट भने मौसम सुधारिने मौसमविदको प्रक्षेपण छ। ‘शनिबारबाट यो मौसमी प्रणाली कमजोर भएर बाहिरिने भएकाले मौसम सुधारिन्छ,मौसमविद् पौडेलले भने।

मौसममा बारम्बार किन भइरहेको छ बदलाब ?

यस वर्षको हिउँदमा मौसम छिटो(छिटो परिवर्तन भइरहेको छ। केही दिन घाम लाग्ने र त्यसपछि फेरि वर्षा हुने क्रम दोहोरिरहेको छ।मौसमविद् वरुण पौडेल मौसमी प्रणाली भित्रिने र बाहिरिने क्रम छिटो-छिटो भइरहेकाले घाम लाग्ने र पानी पर्ने शृंखला सँगसँगै चलिरहेको बताउँछन्।

अघिल्ला वर्षहरूको हिउँदमा बढीमा ४र५ वटा मौसमी प्रणाली भित्रिने गरे पनि यस वर्ष छिटो(छिटो मौसमी प्रणाली फेरिएकाले वर्षा र हिमपात भइरहेको उनको भनाइ छ। नेपालमा भित्रिने मौसमी प्रणालीको स्रोत भूमध्य सागर हो। यहाँबाट बहने हावा सोझै नेपालतर्फ बहँदा त्यसको असर बढी पर्ने र अन्यत्र मोडिँदा प्रभाव कम हुने मौसमविद् बताउँछन्।