सभामुखको विषयलाई लिएर सचिवालय विभाजित


काठमाडौँ। नागरिक दैनिकमा प्रतिनिधिसभाको रिक्त सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय विभाजित भएको समाचार छ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको हो। नौ सदस्यीय सचिवालयमा तत्कालीन एमाले खेमाबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन माओवादी केन्द्र खेमाबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्।

सरकारलाई सहयोग गर्ने र प्रधानमन्त्रीलाई समेत काम गर्न सहज हुने वातावरण तयार गर्न तत्कालीन एमालेकै तर्फबाट सभामुख उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा प्रधानमन्त्रीसमेत रहेका ओली, उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल र महासचिव पौडेल छन्।

पार्टी एकता र शक्ति सन्तुलनका हिसाबले उचित हुने दाबी गर्दै कार्यकारी अध्यक्ष दाहाल र प्रवक्ता श्रेष्ठ तत्कालीन माओवादी केन्द्रका नेतामध्ये एकलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्।

खनाल र नेपाल तथा पार्टी प्रस्तावित उपाध्यक्ष गौतम भने दुई अध्यक्षले नै उम्मेदवारको टुंगो लगाउनुपर्ने भन्दै तटस्थ बसेका छन्। सचिवालयका अर्का सदस्य एवं गृहमन्त्रीसमेत रहेका थापा मौन छन्।