राम्रो कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन्: प्रधानमन्त्री ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामहरुको समाचार नै नबनेको गुनासो गरेका छन्। सरकारले काठमाडौंलाई सडक मानव मुक्त बनाए पनि प्रशंसामा लेख्ने बोल्ने सञ्चार माध्यम नभएको उनले सुनाए।

मंगलबार नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘राम्रो कामको प्रशंसा गर्ने मनमुटु भएका सम्पादक नै छैनन्। कसैले छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि राम्रा कुरा गर्न थालिस भनेर गाली खान्छ।’

पहिले पहिले बालबालिकाहरु कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो। यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन्। उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रवन्ध मिलाइएको छ। मान्छेहरु सडकमा लडिरहेका हुन्थ्ये, झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकमा छैनन्। उनीहरुलाई सडकबाट उठाएर राख्ने प्रवन्ध मिलाएका छौं। ठग बेघरलाई घर पठाइदिने र साँच्चिकै बेघर भएकाहरुको व्यवस्थापन आएका छौं। हेर्दा यो साना कुरा लाग्छ तर सामाजिक रुपमा अर्थ छ। तर, हामीले गरेका त्यस्ता कामहरुको प्रशंशामा लेख्ने पत्रपत्रिका छैन, प्रशारण गर्ने टेलिभिजन छैन। प्रशंसा गर्ने मन मुटु भएका सम्पादक छैनन्। यदि कसैले छ्यास्सछुस्स लेखिहाल्यो भने पनि गाली खान्छ। राम्रा कुरा गर्न थालिस्, सकारात्मक कुरा गर्न थालिस्, विग्रिन्छस् भन्छन्।

अनलाईन खबरका अनुसार प्रधानमन्त्री ओलीले लगानीमैत्री वातावरण बनाउन ऐन कानुन संशोधन गर्नुपर्ने भए पनि सरकार तयार रहेको बताए। पहिलो आफूले रेल र पानीजहाजको कुरा गर्दा कतिपयले ठट्टामा उडाएको, तर अहिले धमाधम काम भइरहेको उनले सुनाए।