पाकिस्तानी पूर्वराष्ट्रपति मुसर्रफलाई सुनाइएको मृत्युदण्ड रद्द



काठमाडौँ। पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको छ। यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो। मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए। फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ। एडिसनल अटर्न जनरल इस्तियाक ए। खानका अनुसार यो फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावि हुनेछ।

गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो।

उच्च अदालतको फैसलामा विशेष अदालतले कानुनी प्रक्रियाहरु पूरा नगरेको जनाएको छ। धारा ६ मा गरिएको १८ औं संसोधनअनुसार यस्तो सजाय दिन नसकिने अदालतको ठहर छ। अभियुक्तको अनुपस्थितिमा उसको बहस गर्नु गैरइस्लामी, गैरकानुनी र असम्वैधानिक भएको उच्च अदालतले जनाएको छ।