पुरुष पनि शोषणमा परेका छन्: नायिका थापा



काठमाडौँ। लोकप्रिय नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले चलचित्र क्षेत्रमा महिला मात्रै नभएर पुरुष कलाकार पनि शोषणमा पर्ने गरेको खुलासा गरेकी छन्।

राजधानीको कमलादी स्थित प्रज्ञा भवनको पुस्ताकालयमा संचारकर्मी डीबी खड्काको पुस्तक ‘नियत’को विमोचन समारोहमा बोल्दै रेखाले यस्तो दावी गरेकी हुन्।

उनले भनिन्,‘‘यो पुस्तकले महिलाहरुमाथि हुने नियतको विषयमा बोलेको छ। महिला यौन हिंसामा परेका होलान्। तर, पुरुष पनि यो क्षेत्रमा पीडित छन्। चलचित्र क्षेत्रमा आउँदै गरेका पुरुषहरु आर्थिक रुपमा शोषित भएका छन्। म यो बिषयमा पनि पुस्तक बजारमा आओस् भन्ने चाहन्छु।’

नायिका थापाले रंग दुनियाँमा महिलाले अनेक पक्षहरुको सामना गर्नुपर्ने बताइन। उनले भनिन्, ‘एउटा पुरुषले संघर्ष गर्दा सुरक्षाको चुनौती हुँदैन। तर, एउटा महिलाले काम गर्दै जाँदा उसलाई थुप्रै प्रकारका सुरक्षा चाहिन्छ। एउटा धनाढ्य मानिसले आफ्नी छोरी वा छोरालाई चलचित्रमा गएर काम गर भन्न सक्दैन। तर, उसैले चलचित्रमा काम गर्ने महिला वा पुरुषको नियतमाथि प्रश्न उठाउँछ।’

एक प्रश्नको जवाफमा नायिका थापाले आफूलाई हास्यव्यङ्ग्य कलाकारहरुले गाइजात्रामा ‘कि रेखाको चल्छ, कि देखाको’ चल्छ भनेर प्रचार गरेको स्पष्ट पारिन्। उनले भनिन्,‘हास्यकलाकार दिपकराज गिरीले तत्कालिन गाइजात्रामा मलाई त्यस्तो भनेर हँसाउनु भएको थियो। कुनै पनि पत्रकारले त्यसरी सुरुमा सम्बोधन गरेर लेख्नु भएको होईन।’

कार्यक्रममा नायिका थापाले महिलालाई ‘उत्पीडन’को रुपमा भन्दा पनि ‘हिरो’को रुपमा आफ्ना चलचित्रमा उभ्याउने गरेको दावी गरिन्। साथै मानव एक जाती भएका कारण महिला र पुरुषमा विभाजित गरेर हेर्न नहुने उनको भनाई थियो।