प्रदेश ३ को नाम बागमती, राजधानी हेटौंडा दुई तिहाइ मतकासाथ स्वीकृत



हेटौंडा । प्रदेश ३ स्थायी राजधानी हेटौंडा र प्रदेशको नाम बागमती कायम भएको छ। आइतबार प्रदेश नं ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडालाई नै कायम राख्ने प्रस्ताव पास गरेको हो।

प्रदेश राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरेका छन्। ३ सांसदले भने हेटौंडा स्थायी राजधानी बनाउन नहुने पक्षमा मत जायर गरेका थिए।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो। त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो। जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए।

प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो। तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ।