सरकारले संसदलाई रवरस्ट्याप बनाउन खोज्दैछ: युवा नेता शाही



काठमाडौँ। नेपाली कांग्रेस जुम्लाका प्रभावशाली युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीले सत्तारुढ नेकपाले सभामुखको विषयलाई लिएर संसदको गरिमामाथि खेलवाड गरेको आरोप लगाएका छन्।

एक साता लामो छिमेकी मुलुक भारतको भ्रमण सकेर शनिबार मात्रै स्वदेश फर्केका शाहीले आइतबार सामाजिक सञ्जालमा आफ्ना विचार सार्वजनिक गर्दै यस्तो आरोप लगाएका हुन्।

उनले लेखेका छन्,‘सत्तारुढ दल नेकपाका कारण एक महिनादेखी संसद बन्धक छ। नेकपाभित्रको सभामुख चयनको खिचातानीले संसद नेतृत्व बिहिन छ। सभामुख नहुँदा संसदले पारित गरेका विधेयक प्रमाणिकरण हुन सकेका छैनन्। संसदको गरिमा र यसको सार्वभौमिकतालाई खुम्च्याउने र संसदलाई रबरस्ट्याम्प बनाउन सरकार क्रियाशिल छ।’

त्यस्तै पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा गुटगत खिचातानीले प्रनिधिसभा पंगु बनेको उल्लेख गरेका छन्।

‘हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो’ पूर्व प्रधानमन्त्री भट्टराईले लेखेका छन् ‘तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगुरनिष्काम हुने र बैठक सरिरहने रु जनप्रतिनिधि मुकदर्शक भैरहने? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म? धन्य कणहरू।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक निरन्तर सार्नुलाई अकर्मण्यता र आपत्तिजनक भनेको छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको ट्विटर हेन्ण्डलमा मेन्सन गरेर लेखेका छन्, ‘दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई निरन्तर बनाउने यहाँहरुको अकर्मण्यता आपत्तिजनक छ। जनताको आस्थाको थलोलाई ‘पोलिट् ब्युरो’ को बन्धनबाट तत्काल मुक्त गर्नोस्, जय नेपाल।’

पुस २७ गतेका लागि तय भएको प्रतिनिसभा बैठक माघ ६ गतेसम्मका लागि स्थगित भएको छ। यसअघि पुस १६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि सभामुख चयन कुरा नमिलेपछि स्थगित भएको थियो।