प्रदेश ३ को नाम ‘बागमती’ पारित, राजधानीका लागि २७ गते मतदान हुने



हेटौंडा। प्रदेश ३ को नाम बागमती र स्थायी राजधानीका लागि हेटौंडा र काभ्रे प्रदेश सभामा दर्ता भएको छ। प्रदेशको नाम बागमती सर्वसम्मत भएको हो। प्रदेशको स्थायी राजधानी र नाम प्रस्तावका लागि सभामुख सानुकुमार श्रेष्ठले शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्मको समय तोकेका थिए।

प्रदेशको स्थायी राजधानी हेटौंडाको पक्षमा सत्तारुढ दल नेकपाका संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणी पौडेलले प्रस्ताव दर्ता गरेका हुन्। मुख्यमन्त्री पौडेलको प्रस्तावमा विपक्षी दलका नेता इन्द्र बानिँया, राप्रपा संयुक्तका रिना गुरुङ र राप्रपाका रिता माझीले समर्थन गरेकी थिइन्।

त्यसैगरी विवेकशील साझाले स्थायी राजधानीका लागि काभ्रे प्रस्ताव दर्ता गरेको छ। विवेकशीलका रमेश पौडेल प्रस्तावक रही विवेकशीलकै सांसद बिराजभक्त श्रेष्ठ र शोभा शाक्यले समर्थनसहित प्रदेश सभामा प्रस्ताव दर्ता गराएका छन्।

प्रदेशको स्थायी राजधानीमा दुर्इवटा स्थान दर्ता भए पनि प्रदेशको नाम बागमती राख्नेमा सबै दल सहमत भएका छन्। प्रदेश राजधानी काभ्रे प्रस्ताव गरेका विवेकशील साझाले प्रदेशको नाम बागमती राख्नेमा समर्थन गरेका छन्।

प्रदेशको स्थायी राजधानी र नामको विषयमा नेमकिपाले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन। प्रदेश सभा सचिवालयले भोली (पुस २७ गते) मतदान प्रकृयाबाट प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाउने तयारी गरेको छ।

प्रदेशको स्थायी राजधानी र नामको लागि प्रदेशसभामा रहेका सदस्यहरुको दुइतिहाई मत आवश्यक पर्छ। प्रदेशसभामा कूल रहेका ११० सदस्य मध्ये सत्तारुढ दल नेकपाको ८० मत छ। नेपाली कांग्रेसको २२, विवेकशील सझाको तीन, नेमकिपाको २, राप्रपा संयुक्त र राप्रपाको एकएक तथा स्वतन्त्र एक मत रहेको छ।