नेकपा शिवमायामाथि अनुदार, ‘म माथि राजनीतिक हिँसा भयो’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महिलामाथि अनुदार बनेको छ।

सभामुखको विषयलाई लिएर नेकपा यतिखेर आलोचित बन्दै गएको अवस्थाछ। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफू सभामुख बन्नुपर्ने अडान राख्दा नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्ड उनीमाथि अनुदार बनेका टिप्पणी हुन थालेका छन्।

योग्य राजनीतिज्ञ र त्यसैमाथि विद्यावारिधि गरेकी नारीले आफू सभामुख बन्छु भन्दा नेकपाले किन उनीमाथि राजनीति गरिरहेको छ? सभामुखको खोजीमा नेकपाले संसदलाई किन बन्धक बनाईरहेको छ? यो आम प्रश्न बन्दैछ। कतिले त सामाजिक सन्जालमा नेकपा नेतृत्व पितृसत्तात्मक सोचबाट बाहिर निस्किन नसकेको आरोप लगाएका छन्।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले उनलाई शुक्रबार विहान बालुवाटारमा बोलाएर छलफल गरेका थिए।

तुम्बाहाम्फेले शुरुमा आफ्नो पीएचडीको थेसिस पुस्तकमा हस्ताक्षर गरेर दुवै नेतालाई उपहार दिएकी थिइन्। ‘नेपालमा महिला आन्दोलन’ विषयमा पीएचडी गरेकी डा.तुम्बाहाम्फेले त्रिभुवन विश्वविद्यालयमा बुझाएको थेसिस पुस्तकका रुपमा प्रकाशित गरेकी छन्।

उनले पार्टी अध्यक्षलाई आफूमाथि राजनीतिक हिँसा नगर्न आग्रहसमेत गरेकी छन्। उनले आफूमाथि भएको राजनीतिक हिँसाका बारेमा जनतालाई जानकारी दिनेसमेत चेतावनी दिएकी छन्।

उक्त भेटमा आफू सभामुख बन्नको लाथि १२ बुँदे योग्यताका सूचि समेत पेश गरेको एक स्रोतले जानकारी दिएको छ। २०३६ सालदेखि विद्यार्थी आन्दोलनमा सहभागी, अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, युवा संघको केन्द्रीय जिम्मेवारी, अखिल नेपाल महिला संघको नेतृत्व गरेको, नेपालमा महिला आन्दोलन विषयमा पिएचडी, प्राज्ञिक र लेखन कार्यमा संलग्न, कानुन पढेको, विश्वविद्यालयमा अध्यापन गराएको, अभ्यासरत वकिल, तत्कालीन एमालेको निर्वाचित केन्द्रीय सदस्य, अनुसन्धानकर्ता प्राज्ञिक, बहालवाला उपसभामुखलगायतका योग्यता पेश गरेकी हुन्।

नेकपाका आज आएर मात्रै महिलाप्रति अनुदार र अविस्वासी बनेको होईन। तत्कालिन एमालेकी उपाध्यक्ष अष्टलक्ष्मि शाक्यलाई प्रदेश ३ को मुख्यमन्त्री हुनबाट पनि यसरी नै रोकिएको थियो।

शाक्यले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाटो खाली गरेर राजनीतिक उदारता देखाएको मान्नेहरु पनि छन्।

शाक्यमाथि तत्कालिन एमालेले मुख्यमन्त्री बनाउन सकेको भए इतिहास रचिन्थ्यो र अहिलेको नेतृत्व महिलाप्रति सचेत र सकारात्मक छ भन्न अवस्था हुने थियाे।