काठमाडाैँ। शकास्पद छ’ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानको तेहरानमा दुर्घटना भएको युक्रेनको बोइङ ७४७ विमानबारे गरेको टिप्पणी हो यो। उता, बेलायत र क्यानाडाले पनि १७६ यात्रु सवार पीएस ७५२ विमानलाई दुर्घटनाअघि इरानको मिसाइलले लागेको सूचना प्राप्त गरेको जनाएका छन् ।
इरानले अमेरिकाको नेसनल ट्रान्सपोर्टसन सेफ्टी बोर्डलाई अनुसन्धानमा भाग लिन आग्रह गरेको छ। इरानको उड््डयन प्राधिकरण अधिकारी फरहाद पर्भरेसले एजेन्सीले आफ्नो अनुसन्धानकर्ता पठाउन सहमति पनि जनाएको जानकारी दिएका छन्।
इरानमाथि मिसाइल हानेर यात्रुवाहक विमान खसालेको आरोप लागिरहँदा यस्तो घटना भएको पहिलो पटक भने होइन। पछिल्लो चार दशकमा यस्ता थुप्रै घटना भएका छन् । यहाँ त्यस्ता घटनाका केही उदाहरणहरु प्रस्तुत गरिएका छन्।
युक्रेन २९८ जनाको मृत्यु, जुलाई १७, २०१४
मलेसिया एयरलाइन्सको एमएच१७ लाई विद्रोही पक्षको कब्जामा रहेको युक्रेनको पूर्वीभागमा मिसाइल हानेर खसालिएको थियो। विमान एम्सटरड्यामबाट क्वाललम्पुरका लागि उडेको थियो। बोइङ ७७७ विमानमा सवार सबै २९८ यात्रु मारिएका थिए जसमा १९३ डच नागरिक थिए।
किएभका अधिकारीहरु र पूर्वी युक्रेनलाई नियन्त्रण लिन खोजिरहेका रुससमर्थित विद्रोहीहरुले एकअर्कालाई उक्त विमानलाई मिसाइल हानेर खसालेको आरोप लगाएका छन्। सन् २०१९ मा नेदरल्याण्ड्सका अनुसन्धानकर्ताहरुले उक्त दुर्घटनाका लागि रसियाको सेनाका तीन सदस्यसहित चारजनालाई दोषी करार गरेको थियो।
सोमालिया ११ जनाको मृत्यु मार्च २३, २००७
बेलारुसियन एयरलाइन्सको इल्युसिन २–७६ विमानलाई सोमालियाको राजधानी मोगादिसुबाट उडान भरेको केही बेरमा नै रकेट हानेर खसालिएको थियो। दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए। उक्त विमानमा बेलारुसका इन्जिनियर र प्राविधिक सवार थिए। उनीहरु दुई हप्ताअघि मिसाइल प्रहार भएको अर्को विमानको मर्मतका लागि त्यहाँ पुगेका थिए।
ब्ल्याक सी ७८ को मृत्यु अक्टोबर ४, २००१
रसियन सिबिर टुपोलेभ–१५४ विमान तेल अभिभदेखि नोभोसिब्रिस्कतर्फ उडान भर्ने क्रममा ब्ल्याक सीको आकाशमा विस्फोट भएको थियो। उक्त विमानमा सवार ७८ जना, प्रायः इजरायली, को मृत्यु भएको थियो।
युक्रेनको क्रिमेइन तटबाट ३ सय किलोमिटर टाढा उक्त दुर्घटना भएको थियो। एक हप्तापछि किएभले भूलवस युक्रेनको मिसाइलले उक्त विमानलाई खसालेको स्वीकार गरेको थियो।
इरान २९० जनाको मृत्यु जुलाई ३, १९८८
इरानको बान्दार अब्बासबाट युएईको दुबईका लागि उडेको केही बेरमा नै इरान एयरको एयरबस ए–३०० इरानको क्षेत्रभित्र पर्ने पर्सियन गल्फमा खसालिएको थियो। स्ट्रेट अफ होर्मुजको गस्ती गरेको अमेरिकाको युएसएस भिन्सेनिस युद्धपोतले विमानलाई युद्धक विमान ठानेर दुईवटा मिसाइल प्रहार गरेको थियो। विमानमा सवार २९० यात्रुको मृत्यु भएको थियो जसमा ६६ बालबालिका थिए।
इन्टरनेसनल कोर्ट अफ जस्टिसमा सहमति गर्दै अमेरिकाले इरानलाई १०.१८ करोड अमेरिकी डलर क्षतिपुर्ती तिरेको थियो। सहमति अनुसार अमेरिकाले दुर्घटनाका लागि कानूनी दायित्व वा इरानसँग औपचारिकरुपमा माफी मागेन। अमेरिकाले पछि युएसएस भिन्सेनिसका कप्तान विल सी रोजर्सलाई लिजयन अफ मेरिट पुरस्कारले सम्मानित गरेको थियो।
रसिया २६९ जनाको मृत्यु सेप्टेम्बर १, सन् १९८३
गलत बाटो हिँडेको दक्षिण कोरियाको कोरियन एयरआबद्ध बोइङ ७४७ विमानलाई सोभियत फाइटर विमानले सखालिन टापुनजिकै खसालेको थियो। दुर्घटनामा २ सय ६९ यात्रु र चालकदलका सदस्यले ज्यान गुमाएका थिए। दुर्घटनाको पाँच दिनपछि सोभियत संघका अधिकारीहरुले दक्षिण कोरियाको विमान खसालेको स्वीकार गरेका थिए।
सिनाइ मरुभूमि १०८ जनाको मृत्यु ९फेब्रुअरी २१, १९७३
त्रिपोलीबाट कायरोका लागि उडान भरेको लिबियन अरब एयरलाइनको बोइङ ७२७ विमानलाई इजरायलको फाइटर विमानले सिनाइ मरुभूमिमा खसालेको थियो। विमानमा १ सय १२ जना सवार रहेकोमा ४ जना बाँच्न सफल भएका थिए। सिनाइमा रहेको आफ्नो सैन्य बेसमाथि उडेपछि इजरायलको सेनाले खसालेको थियो। इजरायलका अधिकारीहरुले विमानले ल्याण्ड गर्न नमानेपछि आफूहले बाध्य भएर खसालेको बताएका थिए।
स्रोतः अलजजिरा