भ्यालेन्सियालाई हराउँदै रियल मड्रिड फाइनलमा



काठमाडौँ। रियल मड्रिड यसै सिजनदेखि नयाँ ढाँचामा शुरु भएको स्पानिस सुपरको फाइनलमा प्रवेश गरेको छ। गएराति साउदी अरेबियामा भएको पहिलो सेमिफाइनल खेलमा भ्यालेन्सियालाई ३(१ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो।

यसअघि स्पानिस ला लिगा र कोपा डेल रेको विजेताले सीधै सुपर कपको फाइनल खेल्थे। तर यस पटक गत सिजन ला लिगाको शीर्ष दुई टिम र कोपा डेल रेमा फाइनल पुगेको दुईमा समावेश गर्दै सुपर कप खेलाइएको हो।

बार्सिलोनाले गत सिजन ला लिगाको उपाधि जितेको थियो भने कोपा डेल रे फाइनल खेलेको थियो। रियल मड्रिड लिगमा तेस्रो भएको थियो। तर बार्सिलोना कोपा डेल रेको पनि फाइनल पुगेकोले ला लिगामा तेस्रो भएको रियलले यस सिजन सुपर कप खेल्ने मौका पाएको हो। यसअघि ला लिगा र कोपा डेल रे जित्ने टिमले सीधै सुपर कप खेल्दै आएका थिए।

त्यही अवसरमा रियलले भ्यालेन्सियालाई हरायो। रियलको जितमा टोनी क्रुस, इस्को र लुका मोडरिचले गोल गरे। भ्यालेन्सियाका लागि डानी पारेजोले पेनाल्टीमा एक गोल फर्काए।

खेलको १५औं मिनेटमा क्रसुले कर्नरबाट सीधै गोल गर्दा रियलले अग्रता लियो। ३९औं मिनेटमा इस्कोले अग्रता दोब्बर पारे। दोस्रो हाफमा पनि रियलले एक गोल थप्यो।

६५औं मिनेटमा मोडरिचले रियलका लागि गोल गरे। भ्यालेन्सियाका लागि पारेजोले इन्जुरी टाइममा पेनाल्टीमा गोल गरे। रियलले अब बार्सिलोना र एट्लेटिको मड्रिडबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ।