काठमाडौँ। आजबाट नेपालमा पुनः न्युन चापिय मौसमी प्रणाली नेपाल भित्रिने भएको छ। मौसमविद् विभूति पोखरेलले आज बिहान बाह्रखरीलाई जानकारी दिएअनुसार सो प्रणाली आज साँझसम्ममा पश्चिम नेपालमा आइसक्ने छ। सो प्रणाली आएपछि सो क्षेत्रमा हिमपात हुनुका साथै वर्षाको पनि सम्भावना रहेको छ।
सो प्रणाली आउँदो बुधबारदेखि भने देशैभर फैलिने मौसमविद् पोखरेलले जानकारी गराइन्। उनका अनुसार बिहीबार र शुक्रबार पनि त्यसको असर देशैभरी देखिनेछ र आगामी शनिबारदेखि मात्रै मौसममा सामान्य सुधारको अवस्था देखिनेछ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी तराईका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर–परासी लगायतका भूभागमा हुस्सु लागेको छ। साथै मध्य र पूर्वी तराईका धेरैजसो भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको जनाइएको छ।
आज नेपालको पश्चिमी र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। आगामी २४ घण्टा पश्चिमी न्यूनचापिय प्रणाली भित्रिएसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रतिर बढी जाडो महसुस हुने हुनाले चिसोबाट जोगिन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।