एक सय २२ चिनियाँलाई देश निकाला गर्ने तयारी



काठमाडौँ। प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गर्ने तयारी गरेको छ। चीनकै सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ परेका उनीहरुलाई वैधानिक प्रक्रियाबाट स्वदेश लैजान समस्या आउने भएपछि देश निकाला गर्ने तयारी भएको हो।

चीनकै आग्रहमा उनीहरुलाई देश निकाला गर्न लागिएको सुरक्षा अधिकारी बताउँछन्। पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ। प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो। पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको छ। यसअघि ५ दिन र १० दिन म्याद थप गरिएको छ।

परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अभद्र व्यवहारमा जिल्ला प्रशासनबाट २५ दिनसम्म म्याद थप गर्न पाइन्छ। त्यसपछि म्याद थप गर्न पाइँदैन। म्याद नथप्ने अवस्था आए अदालतमा पेस गर्नुपर्छ। उनीहरूलाई परिसर, सोह्रखुट्टे, सिंहदरबार, बालाजु, महाराजगन्ज वृत्तमा राखिएको छ।