काठमाडौँ। संसदीय सुनुवाइ समितिको आज बसेको बैठकलेले न्याय परिषद् सदस्य पदमा प्रस्तावित लक्ष्मीबहादुर ‘निराला’खड्काको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ।
परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाएका थिए। निराला मुलुकका पुराना र बरिष्ठ वकिल हुन्।
समितिका सभापति लक्ष्मणलाल कर्णको नाममा जारी निर्णयमा भनिएको छ,‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पस ०७६–०७७ मसस ३२२–३६०५ मिति २०७६ पुष ४ को पत्रानुसार न्याय परिषदको सदस्य पदमा नियुक्तिको लागि श्री लक्ष्मी बहादुर निराला खड्कालाई प्रस्ताव गरी नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सनुुवाईका लागि पठाईएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समितिको कार्यविधि २०७५ बमोजिम सुनुवाई गर्दा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभवको आधारमा उक्त पदका लागि योग्य देखिनुभएको हुँदा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियामावली २०७५ को नियम २६ को उपनियम ५ बमोजिम उक्त पदका लागि प्रस्तावित श्री लक्ष्मी बहादुर निराला खड्काको नाम सर्वसम्मतीले अनुमोदन गर्ने निर्णय गरियो।’ यसअघि केही समय उनले महान्यायाधिवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए।
तस्विर: मुकुन्द कालिकोटे