सभामुख चयनका विषयमा नेकपाकाे सचिवालय बैठक जारी



काठमाडौ। धानमन्त्री निवास बालुवाटारमा आगामी केन्द्रीय समितिको बैठक र सभामुख पदको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसीरहेको छ।

सभामुखको उम्मेदवार र आगामी केन्द्रीय समिति बैठकका बारेमा आज बसेको सचिवालय बैठकले महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ। सभामुख टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक बस्न सकिरहेको छैन। त्यसैले पनि नेकपालाई तत्काल सभामुखको उम्मेदवार टुंगो लगाउनु पर्ने दवाव छ।

कृष्णबहादुर महरा यौनदुर्व्यवहारको आरोपमा पक्राउ परेपछि रिक्त भएको सभामुख पदमा पूर्वएमालेबाट सुवास नेम्वाङ र पूर्वमाओवादीबाट अग्नि सापकोटाले दाबी गर्दा नेकपा अनिर्णित छ।

यसैबीच नेकपाले यही यही पुस २३ गते बोलाइएको केन्द्रीय समितिको बैठकलाई पछि सार्ने तयारी गरेको छ। राष्ट्रियसभा निर्वाचन र सभामुखको उम्मेदवार चयनमा नेताहरु व्यस्त हुनुपर्ने कारण देखाउँदै बैठक स्थगित गर्ने तयारी भइरहेको हो।

तत्कालीन एमाले र तत्कालीन माओवादीबीच पार्टी एकता भएपछि नेकपाको केन्द्रीय समितिको बैठक औपचारिक रुपमा बस्न सकेको छैन। नेकपाको केन्द्रीय समिति चार सय ४१ सदस्यीय छ। केन्द्रीय समितिमा तत्कालीन एमालेबाट दुई सय ४१ र तत्कालीन माओवादी केन्द्रबाट दुई सय जना छन्।