भ्रमण वर्ष २०२० को भव्य उद्घाटन (भिडियोसहित)



काठमाडौँ। भ्रमण वर्ष २०२० को एक भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पुगेर उक्त कार्यक्रम उद्घाटन गरेकी हुन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणमा आउन विश्वका पर्यटकहरुलाई अपील गरेका छन्। नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने, ‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो। यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस्। जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस्।’

उनले अगाडि भने,‘नेपाल यस्तो मुलुक हो, हामी सहजै भन्न सक्छौं, ‘यहाँ के छैन ? सबथोक छ’ मन्त्री भट्टराईले भने, ‘हाम्रा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रहरूको आधारमा हामी भन्न सक्छौं, ‘सबैका लागि नेपाल जाने।’ पर्यटकहरूको लागि नेपाल आफैंमा एउटा पूर्ण प्याकेज भएको मन्त्री भट्टराईले बताए।