आजको आवश्यकता, कांग्रेसमा एकता: नेता शाही



काठमाडौँ। नेपाली कांग्रेस र उसका भ्रातृसंघ संस्थाहरुले आज ४४औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएका छन्।

कांग्रेसले पार्टीका संस्थापक बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता भारतको लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ।

यसै सन्दर्भमा नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीले आजको आवश्यकता कांग्रेसभित्र एकता भएको दावी गरेका छन्।

नेता शाहीले केही दिन अगाडि कांग्रेसभित्रको विवादले सिंगो लोकतन्त्रलाई समेत घाटा पुग्ने भन्दै सचेत गराएका थिए। मेलमिलापको दिनमा पनि नेता शाहीले आजको पहिलो आवश्यकता भनेको नेपाली कांग्रेसभित्रको एकता भएको र आन्तरिक लोकतन्त्रलाई मझबुद बनाउनको लागि आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘४४औँ राष्ट्रिय मेलमिलाप दिवसको शुभकामना। बीपी गुमाउँदा विचार गुम्यो, सुवर्ण शमशेर गुमाउँदा उदारता गुम्यो, गणेशमान गुमाउँदा त्याग गुम्यो, किसुनजी गुमाउँदा इमान र निष्ठा गुम्यो, गिरिजा गुमाउँदा साहस गुम्यो, सुशील गुमाउँदा सादगी पन गुम्यो।’

उनले अगाडि लेखेका छन्, ‘अब गुमेको विश्वास फेरी जगाउनु छ। गुमेको बिरासत फेरी फर्काउन सकीन्छ। त्यसैले फुटेर हैन जुटेर, पुर्खाको सपना र भाबी सन्ततिको भविष्य सम्झिएर, एकपटक मनन गरौ। सहमति, सहकार्य र एकताको जगबाट बीपी, गणेशमान, शुबर्णशमशेर, किसुनजिलगायतका धेरै वीर सपुतबाट जन्मिएको यो पार्टी जसले नेपाली जनतालाई रैतिबाट यहाँसम्म पुर्‍याउन ठूलो त्याग गरेको छ। बिडम्बना पार्टीभित्रको चुलिदो आन्तरिक विवादले अहिले देशभरीका नेता कार्यकर्ता निराश छन्। देशको वर्तमान अवस्थामा पार्टीभित्र सहमति सहकार्य एकता र मेलमिलापको आवश्यकता छ।’

आजकै दिनबाट कांग्रेस नेतृत्वदेखि कार्यकर्तासम्म एकजुट भएर अगाडि बढ्न उनले आग्रह गरेका छन्। नेता शाही अगाडि लेख्छन्, ‘हातमा हात मिलाएर अघि बढ्नु अहिलेको आवस्यकता हो। ४४औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा, आदरणीय नेताहरूलगाएत सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा राष्ट्रिय मेलमिलापको आवश्यकता र महत्त्व अझ बढेको मैले महशुस गरेको छु। पार्टीको आन्तरिक जीवनमा ऐतिहासिक दिनले मेलमिलापको बाताबरण सिर्जना होस्। मेलमिलापको स्मरणमा मनाइने यो दिवसले हामी नेपालीको आत्मीयता, आपसी सद्भाव, विश्वास र एकता अझ घनिभूत हुने र हाम्रो राष्ट्रियता बलियो हुने विश्वास लिएको छु। जय नेपाल। जय तरुण।’