अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी



रौतहट। अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको छ। जिल्लाको गुजारा नगरपालिका ८ जोगलियामा रहेको टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयका अनुसार मंगलबार राती १० बजे एनसेल टावरमा आग्जनि भएको हो। यस्तै चितवनको कालिका नगरपालिका ९ मिलन बजारमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ।

आज मात्रै दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको थियो। ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलले आज उक्त रकम कर तिरेको हो।

सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो।

तर, एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ। किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी छ।